• ७ जेठ २०८१, सोमबार

ओमन

blog

नवराज अधिकारी 

ओमन अरबी प्रायद्वीपको दक्षिणपूर्वी तटमा पर्सियन खाडी र अरब सागरको सङ्गमस्थलमा रहेको देश हो । यो अरब जगतको सबैभन्दा पुरानो स्वतन्त्र मुलुक हो । सन् १९७० सम्म यसलाई मस्कट र ओमन भनिन्थ्यो । 

ओमनको अधिकांश भू–भागलाई बालुवाको मरुभूमि तथा बोटबिरुवा र पानीविहीन क्षेत्र (रब अल–खाली)ले ढाकेको छ । ओमनको तटीय क्षेत्र बसोबासका लागि निकै राम्रो छ । ओमनको भौगोलिक अवस्थिति अत्यन्तै सुन्दर छ । 

ओमन राजतन्त्रतात्मक मुलुक हो । देशलाई सुल्तानेट र राष्ट्रप्रमुख सुल्तान भनिन्छ । ओमनका वर्तमान सुल्तान हैथाम बिन तारिक हुन् । 

ओमनको क्षेत्रफल तीन लाख नौ हजार ५०० वर्गकिलोमिटर र जनसङ्ख्या ४५ लाख हाराहारी छ । राजधानी सहर मस्कट हो । यहाँको मुद्रालाई रियाल भनिन्छ । ओमनी रियाल अमेरिकी डलरभन्दा पनि महँगो छ । ०.३८५ ओमनी रियाल एक अमेरिकी डलर बराबर हुन्छ । ओमन अरबी घोडा, ज्यादै अग्ला उँट, जङ्गली गधा, हरिया कछुवा, अरबी हरिण (ओमनको राष्ट्रिय जनावर), सुगन्धित धुपका बोट र छोकडाका लागि प्रख्यात छ । ओमनको प्राचीन सिँचाइ प्रणाली पनि प्रख्यात छ । सिँढीदार उपवन, काँचो इँटले बनेका किल्ला, प्रशस्त मस्जिद, वादिस (घाटीहरू), परम्परागत अरबी नौका (धो), उल्कापिण्डको चट्टानका लागि पनि ओमन प्रख्यात छ ।

ओमनको हराभरा उत्तरी तट मलिलो क्षेत्र अङ्गुर र अन्य उत्पादनका लागि प्रख्यात छ । ओमनको भित्री भागको हावापानी तातो र सुक्खा छ । तटीय क्षेत्र तातो र ओसिलो छ । गर्मीयाममा राजधानी मस्कट र अन्य तटीय इलाकाको तापमान ४३ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । 


वर्षा अत्यन्तै कम हुने हुँदा ओमनमा सिँचाइ सुविधा पुगेका ठाउँबाहेक अन्यत्र बोटबिरुवा छिटफुट मात्र देखिन्छ । कुलोमा आधारित यहाँको सिँचाइ प्रणालीलाई स्थानीय भाषामा फलाज (बहुवचनमा अफलाज) भन्छन् । ओमनका अफलाजहरू युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत छन् । प्राकृतिक रूपमा हरियाली भएका ठाउँमा अकासिया नामका रुख हुन्छन् । वनस्पतिका दुर्लभ प्रजातिलाई प्राकृतिक संरक्षणस्थलमा जोगाएर राखिएको छ । यहाँको माटो एकदमै चट्टानी छ । यहाँ पाइने अरेबियन हरिण, अरेबियन चितुवा, हिमाली बाख्रा, ठूलो कछुवाजस्ता दुर्लभ जनावरको पनि सरकारले संरक्षण गरिरहेको छ । यहाँ उड्ने प्रजातिका जीवमा असाधारण विविधता छ, जसमा चिल्लो बकुला, इजिप्सियन गिद्ध, बारबारे चिल, सोकोट्रा कौवा छन् । 

ओमनको जनसङ्ख्यामा आधाभन्दा बढी अरब छन् । यहाँको अल–बातिनाह तट क्षेत्रमा इरान र पाकिस्तानबाट सयौं वर्ष लगाएर पुगेका बलोचको सङ्ख्या पनि ठूलै छ । त्यसैगरी मस्कट–माथ्राह सहरी इलाकामा लामो समयदेखि जातीय पर्सियनदेखि दक्षिण एसियाली पुर्खाका व्यापारीको बसोबास छ ।


ओमनको सरकारी अरेबिक भाषा हो । आधुनिक मानकको अरेबिक भाषा विद्यालयमा पढाइन्छ । यसबाहेक अरबी भाषाका अन्य भाषिका पनि यहाँ बोलिन्छ । दक्षिण एसियाली भाषा पनि ओमनमा बोलिन्छ । यहाँका बहुमत मानिसले इस्लाम धर्म मान्छन् । ओमन पर्सियन खाडीका उच्च जन्मदर भएका मुलुकमध्येमा पर्छ । यहाँको औसत आयु ७५ वर्ष छ । करिब आधा जनसङ्ख्याको उमेर ३० वर्षभन्दा कम छ । 

तटीय क्षेत्रका मानिस माछा मार्ने र समुद्रपार व्यापारमा संलग्न छन् । सन् १९६४ मा तेलखानी पत्ता लागेपछि यो मुलुकले आर्थिक रूपमा काँचुली फेरेको हो । कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशत र सरकारी आम्दानीमा ७५ प्रतिशत योगदान तेलको छ ।