काठमाडौं, मङ्सिर २८ गते । हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार हजार २८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
सो प्रावधानबमोजिम प्रतिनिधि सभातर्फ एक हजार ९६१ जना तथा प्रदेश सभातर्फ दुई हजार ३२४ जना गरी चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज (बुधबार) सार्वजनिक गरेको हो ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । सो प्रावधानबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० दल र प्रदेश सभातर्फ प्रदेश नं १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ ।