• १० मंसिर २०८१, सोमबार

स्याङ्जाका दुई सडक प्रविधिमैत्री बनाइँदै

blog

बायाटारी उदियाचौर सेतीबेनी सडकमा गरिएको ढलान । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर २८ गते । गण्डकी प्रदेशमा पहिलो पटक देशकै स्रोत र साधनलाई प्रयोग गरेर स्याङ्जाको दुई सडक प्रविधिमैत्री रूपमा निर्माण गरिँदैछ । यहाँको वालिङबाट पर्वत–गुल्मी जोड्ने बायाटारी उदियाचौर सेतीबेनी सडक र चापाकोट हिलाममरेङ सडकलाई नयाँ प्रविधि प्रयोग गरेर निर्माण तीव्र पारिएको हो । 

देशमै भएको गिट्टी, बालुवा, सिमेन्ट, रडको प्रयोग गरेर गण्डकी प्रदेशमै पहिलो पटक सडक ढलान गरिएको बताइएको छ ।  

एक निर्वाचन क्षेत्र, एक सडक अन्तर्गत निर्माण गरिएको बायाटारी उदियाचौर सेतीबेनी सडक ढलानले मुख्य गरेर वालिङ र गल्याङ्ग नगरपालिका नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । 

यहाँको १० किलोमिटर ढलान लुम्बिनी गजेन्द्र जेभी स्याङ्जाले २०७९ माघ १५ गते सक्नेगरी २०७७ साउन १८ गत सम्झौता गरेको थियो । ३३ करोड ५४ लाख ३० हजार ७४६ रुपियाँ ५९ पैसामा निर्माण कम्पनीले सम्झौता गरेको थियो । ९५ प्रतिशत काम सकिएको पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । 

यस्तै, शर्मा हाई हिमालय जेभीले चापाकोट हिलाममरेङ सडक २०७७ साउन २७ सते तीन वर्षमा काम सक्नेगरी काम अघि बढाएको हो । १० किलोमिटर ९९० मिटर ढलान गर्नेगरी २९ करोड ६५ लाख ९३ हजार ९१३ रुपियाँ ९७ पैसामा सम्झौता गरेको हो । चापाकोट हिलाममरेङ सडकको पचास प्रतिशत भौतिक र आर्थिक प्रगति भएको अर्यालले बताउनुभयो । 

दुबै सडक ढलानमा आठ र १० एफएमको फलामको डन्डी प्रयोग गरी मिक्स डिजाइनअनुसार एम ३० को ग्रेडको कङ्क्रिट प्रयोग गरिएको छ । सडक १० इन्चको साढे चारदेखि छ मिटर सम्म चौडा ढलान गरिएको इन्जिनियर सिर्जना शर्माले बताउनुभयो । दुवै सडकको अधिकांश भाग ठाडो भएकाले सडकको सतहमा उच्च प्रविधिको मसला प्रयोग गरिएको शर्माले बताउनुभयो । 

सरकारले सबै सडकलाई कालोपत्रे गर्ने गरे पनि विदेशी अलकत्रा र जनशक्तिलाईभन्दा स्वदेशी सामग्री र जनशक्तिको प्रयोग गर्ने हेतुले यो प्रविधि अपनाइएको छ । कालोपत्रेभन्दा देशकै सामग्रीको प्रयोगले देशको पैसा विदेशमा नजाने र ठाडो सडकमा यस्तो ढलान प्रभावकारी हुने देखिएको शर्माले बताउनुभयो ।