पविता पौडेल
सैनामैना, मङ्सिर २८ गते । रुपन्देहीकाे सैनामैना नगरपालिका –६ चुरे पहाडको काखमा रहेको मलमला मन्दिर एकीकृत सामुदायिक विकास नामक संस्था गठन भएपछि विकासको गतिमा अघि बढेको छ । यहाँको भौतिक विकास तथा प्राकृतिक मनोरम दृश्यले आन्तरिक धार्मिक पर्यटकको आगमन बढाएको छ ।
संस्थाले पर्यटन विकासका लागि मलमला मन्दिर वरिपरि हरियाली पार्क, मन्दिरसम्म जाने पक्की बाटोको निर्माण गरेको छ । खानेपानी आदि बनाउने योजना अघि बढेपछि परिवर्तन हुने क्रममा अघि बढेको छ । अहिले सो संस्था र एसियाली विकास बैङ्कको सहयोगमा डीपीआर सुरु भएको छ ।
एडीबीले मलमला क्षेत्रको माटो परीक्षण गरेको छ । जहाँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यावरणीय तथा पर्यटकीय महत्त्व बोकेको मलमला क्षेत्रको विकास भएमा सैनामैना नगरपालिकाकै शोभा बढ्ने सो संस्थाका अध्यक्ष गुणाखर भट्टराईले बताउनुभयो । मलमला क्षेत्रको बृहत्तर विकास गर्ने उद्देश्यले २०६८–६९ सालमा मलमला एकीकृत सामुदायिक विकास कार्यक्रम नामक संस्था रुपन्देही जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर यस क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटकीय क्षेत्रको एकीकृत विकास गर्ने उद्देश्य राखिएको संस्थाका अध्यक्ष भट्टराईले बताउनुभयो ।
हाल भट्टराईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति छ । जहाँ २ सय जना आजीवन सदस्य छन् । थारु संस्कृतिसँग साइनो जोडिएको मलमला चौराबाबाको पौराणिक कथा करिब दुई सय वर्ष अगाडि घना जङ्गल रहेको स्थानीयको भनाइ छ ।
तराईवासी थारु समुदायका अगुवा गुरुवाले आफ्नो बस्तीमा जङ्गली जनावरहरु बाघले आतङ्कित पार्न थालेपछि बस्तीदेखि उत्तरतर्फ पर्ने जङ्गलमा गएर मलमल कपडामा बाँधी लगेको चामल (चाउर) बाट खीर पकाएर आफ्नो आस्था अनुसारको देउतालाई चढाएपछि बस्तीमा हुने जङ्गली जनावरको आतङ्क हराएको विश्वास गरिन्छ ।
आफूलाई दुःख दिने बाघलगायतका जनावर आफ्नो क्षेत्रतिर केन्द्रित हुन थालेपछि बस्तीहरु सुरक्षित भएको जनविश्वास रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । हालको सैनामैना अन्तर्गत पर्ने विभिन्न ३६ वटा थारु बस्ती, जसलाई तत्कालीन समयमा गोरवाल तप्पाको रुपमा चिन्ने गरिन्थ्यो । आलोपालो गरी हरेक जेठ महिनामा मलमल चौराबाबाको पूजाआजा गर्ने प्रचलन छ । स्थानीय देवनारायण चौधरीले भन्नुभयो, “यो क्षेत्र पिछडिएको छ । अहिले संस्था बनेपछि केही मात्रामा परिवर्तन भएको छ, आगामी दिनमा थप विकास हुने आशा छ ।”
पछिल्लो समय थारु समुदायका अघिल्ला पुस्ताको प्रचलनलाई नयाँ पुस्ताले बिर्सदै गएका छन् । पुरानो परम्पराअनुसार पूजाआजा गरिने भए पनि सो क्षेत्रको विकासमा सैनामैनाका थारु अगुवा लागिपरेका छन् । युवालाई परम्पराबारे ज्ञान दिन र पुस्तान्तरण गर्न पनि पूजाआजामा युवाको सहभागिता गराउने गरेको गुरुवाहरुको भनाइ छ ।
हाल सो क्षेत्रमा थारु समुदायको अगुवाइमा आफ्नो संस्कृतिको पहिचान हुनेगरी मलमला चौराबाबा प्रतिष्ठान भवन पनि बनेको छ । सो क्षेत्रको विकासका लागि अहिले लुम्बिनी प्रदेश सरकारले पनि लगानी गरेको छ । मन्दिरमा दशैं, तिहार, वसन्तपञ्चमी लगायतका पर्वमा धर्मावलम्बीहरुको घुइँचो नै लाग्नेगर्छ । उहाँ पूजाआजा गर्दा आफूले सोचेको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
सङ्कटमा परेकाहरु मलमला देवीलाई यहाँका भक्तजनले सम्झने र आफ्नो क्षमताअनुसारको भाकल गर्ने गर्छन् । सो भाकल गरेको वस्तु चढाउने परम्परा छ । त्यसो नगर्दा राम्रो नहुने बताइन्छ । कतिपय स्थानीय बुढापाका अनुसार यो क्षेत्रमा देवी, बाबाको संयुक्त रुपमा शक्ति रहेको र दुवैको शक्तिबाट तराईमा बसोवास गर्ने मानिसको रक्षा गरेको स्थानीय बुद्धि चौधरीले बताउनुभयो । यहाँको राम्रो पर्यटकीय क्षेत्रको रुपमा अहिले यो स्थान परिचय बनाएको उहाँले बताउनुभयो ।
रुपन्देही निर्वाचन क्षेत्र ५ का निवर्तमान संसद भरतकुमार शाहको पहलमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत यस क्षेत्रमा पुग्न करिब एक करोड रुपियाँ लागतमा सिंढी निर्माणकार्य सम्पन्न भएको छ ।
प्रदेश सरकारबाट लुम्बिनी प्रदेश सभा सदस्य भूमिश्वर ढकालको पहलमा विनियोजित रकमबाट शौचालय निर्माण सम्पन्न भएको छ । थारु समुदायको संस्कृति झल्किने मलमला चौराबाबाको वरिपरि अझै विकासको काम जारी छ ।
स्थानीय सरकारले उक्त क्षेत्रमा खानेपानीको व्यवस्था गरेको छ । पूर्व नगरप्रमुख चित्रबहादुर कार्कीले त्यसको व्यवस्थापन गर्नुभएको हो । उहाँकै कार्यकालमा त्यस क्षेत्रको सम्भावित पर्यटन प्रवर्धनलाई दृष्टिगत गरी करिब एक करोड लागतमा यहाँको गुरुयोजना अघि बढाइएको छ ।
वर्तमान नगरप्रमुख फणीन्द्रप्रसाद शर्माका अनुसार मलमला क्षेत्रको विकासका लागि नगरबाट छनाेट गरिएका ५ वटा योजनामध्ये मलमला प्राथमिकतामा परेको छ । जसलाई एसियाली विकास बैंक (एडीबी) ले नगरको साझेदारीमा विकास कार्य अगाडि बढाउने गरी सम्झौता गरेको छ । सम्झौतासँगै दुई पटक एसियाली विकास बैंकका प्राविधिक टोलीले यो क्षेत्रको अवलोकन तथा निरीक्षण गरिसकेको छ ।
पूर्व नगरप्रमुख चित्रबहादुर कार्कीले त्यसको व्यवस्थापन गर्नुभएको हो । उहाँकै कार्यकालमा त्यस क्षेत्रको सम्भावित पर्यटन प्रवर्धनलाई दृष्टिगत गरी करिब एक करोड लागतमा यहाँको गुरुयोजना अघि बढाइएको छ ।
यहाँको विकासमा सुरुवाती चरणलाई हेर्दा सैनामैना निवासी नेपाल कम्युनिस्ट पार्टीका नेता वसन्त श्रेष्ठ, नाथु थारु, तत्कालीन दुधराक्ष गाविस सचिव खडानन्द सापकोटा, नगर कार्यकारी प्रमुख रोमनाथ न्यौपाने, योजना प्रमुख सुरज न्यौपाने, पत्रकार नवीन घिमिरेलगायतको महत्वपूर्ण योगदान रहेको बताइएको छ ।
यस क्षेत्रबाट दक्षिणतर्फ लुम्बिनीको ह्वाइट टेम्पलको दृश्यावलोकन गर्न सकिन्छ । उत्तरतर्फ महाभारत पर्वत र हिमाली क्षेत्रको मनोरम दृश्य अबवकन गर्न सकिने कुरा स्थानीयवासी चुरामणि भट्टराईको भनाइ छ । मलमला क्षेत्रको विकासमा चासो बढेसँगै यहाँको अवलोकन गर्न विभिन्न स्थानबाट धार्मिक पर्यटकको आगमन हुनेगरेको भट्टराईले बताउनुभयो ।