काठमाडौं, मङ्सिर २८ गते । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले पत्रकार सम्मेलन गरेको हो ।
मङ्सिर २९ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेश गर्ने कार्यक्रम छ । सोही दिन आयोगले समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।
यसअघि आयोगले अन्तिम नतिजा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको थियो ।
मतदान सम्पन्न भएको करिब तीन सातापछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको गणना सम्पन्न भई राजनीतिक दलले पाएको सिट बाँडफाँट सम्भव भयो । सङ्घीय संसद्को प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएका छन् ।