• १२ मंसिर २०८१, बुधबार

सवारी आवागमन रोकेर पुल निर्माण

blog

वसन्त पराजुली

भरतपुर, मङ्सिर २८ गते ।  नारायणगढ–मुग्लिन सडकमा दिउँसो सवारी रोकेर पुल निर्माणको काम गरिने भएको छ । निर्माण भइरहेको पुलको कामलाई तीव्रता दिन पुस ५ गतेबाट सवारीसाधन रोकेरै निर्माणको काम गर्न लागिएको हो । 

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर विजय दरैले पुल निर्माणसँगै सडक माथिका चट्टान काट्न सडकमा यातायात सेवा रोक्नुपरेको बताउनुभयो । “निर्माणाधीन सडक सिचन्जी पुल, तुइन खोला पुल, काली खोला पुल र सिमल ताल पुल निर्माणका लागि नजिकै रहेको चट्टान काट्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “चट्टान काट्दा हुने असुरक्षाका लागि ध्यान दिँदै अहिले दिउँसो ११ बजे देखि ३ बजेसम्म सवारी आवगमन रोक्नुपरेको हो ।”

मुग्लिन सडकमा निर्माणाधीन १५ पुलमध्ये आठवटाको निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माणको अन्तिम अवस्थामा छन् । निर्माणको अन्तिम अवस्थामा भएका मध्ये चारवटा पुलको निर्माणका लागि चट्टान काट्नु पर्नेछ । 

सडक पुनः निर्माण सकिएको दुई वर्र्षपछि मात्रै २०७७ असारबाट  १५ वटा पुलको निर्माण प्रक्रिया सुरु भएको हो । सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलताका कारण पुल निर्माण सुरु गर्न ढिलाइ भएको थियो । सरकारले पुल निर्माणका लागि कानुनी अड्चन खुला गरेर २०७६ चैत १० गते पुल ठेक्का सम्झौता गरेको थियो । सोहीअनुरूप ‘डिजाइन एन्ड विल्ड’ (पुलको डिजाइन गर्दै निर्माण गर्ने काम)को अवधारणामा  अनक कन्स्ट्रक्सनले निर्माण सुरु गरेको छ । 

अहिले बनेका पुलहरूका चौडाइ ९ मिटर देखि ११ मिटरसम्मका छन् । एक अर्ब २७ करोड पाँच लाख रुपियाँमा ठेक्का सम्झौता भई पुलहरू निर्माण भइरहेका छन् । देशकै प्रमुख राजमार्गमध्येको एक नारायणगढ–मुग्लिन सडक, राजधानी काठमाडौँलाई आवश्यक पर्ने खाद्यान्न तथा लत्ताकपडा र अन्य अत्यावश्यक सामानहरू पनि यही सडकबाट काठमाडौँ लग्ने गरिन्छ । राजधानीलाई तराईका जिल्लाहरूसँग जोड्ने मुख्य सडकमा  दैनिक हजारौँ सवारीसाधन र लाखौँ यात्रु गुड्ने भएकाले पनि छिटोभन्दा छिटो गर्नुपर्ने आवश्यकता छ ।