• १३ असोज २०८१, आइतबार

पोल्यान्डमा नेपाली कन्सुलर कार्यालय स्थापना

blog

गोरखापत्र समाचारदाता 

काठमाडौं, मङ्सिर २७ गते । पोल्यान्डको राजधानी सहर वार्सामा नेपाली कन्सुलर कार्यालय स्थापना भएको छ । 

नेपाली समुदाय एवम् बवदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा यही डिसेम्बर ९ मा पोल्यान्डका लागि नेपाली कन्सुलर कार्यालयको विधिवत् सुरुवात गरिएको हो । 

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कार्यालयको उद्घाटन गर्दै पोल्यान्डमा रहेका नेपालीको हकहितको लागि आफू र नेपाली दूतावासको तर्फबाट सक्दो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोल्याण्डको समेत गैर आवासीय राजदूत खडकाले कन्सुलर कार्यालयको स्थापनाले दुई देशको मात्र नभई पोल्यान्डमा रहेका नेपालीको समस्या सम्बोधन गर्नसमेत सहयोग पुग्ने बताउनुभयो ।

नेपाल सरकारले हालै मात्र डा. बोधराज सुवेदीलाई पोल्यान्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । करिब ६३ वर्ष लामो कूटनीतिक ,राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा पहिलोपटक नेपाल सरकारले अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो । 

लामो समयदेखि पोल्यान्डलाई कर्मथलो बनाउँदै आउनुभएका डा. सुवेदीको पहलमा आफ्नै निवासमा कार्यालय स्थापना भएको हो । अवैतनिक वाणिज्यदूत डा. सुवेदी त्यहाँ रहेका नेपालीहरूको हक हितमा सक्रियतापूर्वक लागेका व्यक्ति हुनुहुन्छ । पेसाले वरिष्ठ चिकित्सक समेत रहनु भएका डा सुबेदी गैर आवासीय नेपाली सङ्घ पोल्याण्डका प्रमुख संरक्षक र संस्थापक अध्यक्ष समेत रहनुभएको छ । डा. सुवेदीले पोल्यान्डसहित युरोपमा रहेका नेपालीहरूलाई समेत आफ्नो सेवा दिइरहनु भएको छ । 

अवैतनिक वाणिज्यदूत डा. सुवेदीले बिना स्वार्थ नेपाल र नेपालीका लागि निरन्तर लागिरहेको र आफूलाई प्राप्त यस जिम्मेवारीले अझ थप प्रेरणा,उर्जा र हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सबै पोल्यान्डवासी नेपालीको हकहित र अधिकारका निमित्त कानुनी र साङ्गठनिक रूपमा सक्दो सहयोग र सहकार्य गर्नेछु । हाल पोल्यान्डमा मात्र पाँच हजारभन्दा बढी नेपालीहरू बसोबास गरिहरेका छन् ।’’