काठमाडौं, मंसिर २८ गते । कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी (खेलकुद सहर) बनाउने उद्देश्यका साथ खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति गठन गरिएको छ । नगरप्रमुख उपेन्द्र कार्कीको संयोजकत्वमा गठित समितिको सोमबार बसेको बैठकले खेलकुदमा प्रचुर सम्भावना भएकाले विशिष्ट योजना र तयारीकासाथ अगाडी बढ्ने निर्णय गरेको छ ।
समितिले चाँडै नै विस्तृत योजना सहितको एउटा ठूलो खेलकुद सम्मेलन गर्ने र आवश्यक पूर्वाधार निर्माणका लागी जमिनको पहिचान गर्ने काम समेत सुरु गरेको छ । समाज रूपान्तरण गर्ने र नगरपालिकालाई आर्थिक रूपमा समेत बलियो बनाउन यो महत्त्वाकाङ्क्षी योजना कोशेढुङगा साबित हुने नगरप्रमुख कार्कीले बताउनुभयो ।
खेलकुदका पूर्वाधार निर्माणका लागी निजी क्षेत्रलाई आकर्षित गर्न विशेष कार्यक्रम ल्याउने सोच समितिले बनाएको छ । नगरपालिकाले खेलकुदको माध्यमबाट नगर चिनाउने महान् अभियानमा नगरवासी सबैको सहयोग र सहभागिताको लागि आव्हान गर्ने निर्णय पनि गरेको छ ।