• १६ वैशाख २०८१, आइतबार

झोलुङ्गे पुलमा रमाउँदै पर्यटक (फोटो फिचर)

blog

पुल निर्माणसँगै यहाँको पर्यटन र व्यावसायिक क्षेत्रमा टेवा पुग्ने स्थानीय व्यापारी तेज डुम्रेलले बताउनु भयो । तस्बिर: केशवचन्द्र महरा

केशवचन्द्र महरा 

दिपायल, मङ्सिर २७ गते । डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोट भैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरेर अग्लो डाँडामाथि पुल निर्माण भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले ८६ लाख ३८ हजार लगानीमा उक्त पुल निर्माण गरेको हो । जमिनदेखि ७० मिटर उचाइमा निर्माण भएको उक्त पुलको लम्बाइ २०० मिटर छ । 


दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको छ । पुलको उद्घाटन गर्दै नगर प्रमुख खड्काले देशकै ऐतिहासिक र राजनीतिक प्रशासन केन्द्र रहेको कोट भैरव र दुधेश्वर शक्तिपिठ पुलले जोडेर यसलाई नमुना पर्यटकीय स्थल बनाउन पुल निर्माण गरिएको बताउनु भयो । पुल निर्माणसँगै यहाँको ऐतिहासिकता, मौलिकतालाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको उहाँले बताउनु भयो । 

मध्यकालीन समयमा बाइसे राज्यहरू मध्ये डोटी राज्य सबैभन्दा शक्तिशाली राज्य थियो,“उहाँले भन्नुभयो, “यसै राज्यका एक चर्चित राजा भूपति शाह हुनुहुन्थ्यो । उहाँले डोटीमा वि.सं. १६१५ देखि १६४७ सम्म शासन गरेको इतिहासमा भेटिन्छ । उहाँकै शासन कालमा डोटी गौडा नामक डाँडामा कोट अर्थात् राजदरबार निर्माण गरिएको थियो । सोही दरबारबाट डोटी राज्यको राजकाज सञ्चालन हुन्थ्यो । राजनीतिक र प्रशासनिक इतिहास भएको यो ठाउँलाई पर्यटकीय स्थल बनाउन थप गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएका छौँ ।


यो ठाउँमा ऐतिहासिक कोट भैरव (दरबार) का भग्नावशेषहरू अहिले पनि भेट्न सकिन्छ । दरबारको पुनर्निर्माणका लागि केही समय अघि उत्खनन पनि गरिएको थियो । डोटी गौणाका रूपमा चिनिने उक्त ठाउँमा रहेको दरबारको निर्माण कार्य भने अगाडी बढ्न सकेको छैन ।

झोलुङ्गे पुलको निर्माण कार्य प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अघि नै सम्पन्न भएको भए पनि आचारसंहिताका कारण ढिलागरि उद्घाटन गरिएको हो । निमार्णकार्य सकिने बित्तिकै सो पुलमा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा पुल र फुलबाट देखिने दिपाय, पिपल्ला बजार क्षेत्र र सेती नदी चर्चामा रहेको छ । 

अग्लो ठाउँमा रहेको सो पुलबाट जिल्लाको मुख्य बजार क्षेत्र दिपायल, पिपल्ला, राजपुर सिलगढी, सेती नदी, सेती नदीमा र द्वारीखोलामा रहेका पुल, राजमार्ग लगायत जिल्लाका अधिकांश क्षेत्रहरू अवलोकन गर्न सकिन्छ । दरबारको संरक्षण र पुनर्निर्माण, बन्जी, र्याप्टिङ्गको व्यवस्था एवं ऐतिहासिकताबारे प्रचारप्रसार गर्न सकिए यो क्षेत्रलाई चर्चित पर्यटकीय क्षेत्र बनाउन सकिने दिपायल सिलगढी नगरपालिकाका वडाध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो ।

पुलको संरक्षण, यसको दिगोपना र नियमित सञ्चालनका लागि नगरपालिकाले कार्य योजना बनाएर व्यवस्थित गरिने प्रमुख प्रशासकीय धिकृत शंकर सूचिकारले बताउनुभयो । 


तस्बिर: केशवचन्द्र महरा