• १२ मंसिर २०८१, बुधबार

मनासलु क्षेत्रमा हिउँचितुवा गणना

blog

नरेन्द्र ढकाल

गोरखा, मङ्सिर २७ गते । उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्रमा हिउँचितुवाको गणना सुरु गरिएको छ। यसअघि सन् २०२१ को नोभेम्बरमा पहिलो पटक नुब्री क्षेत्रमा गणना गरिएको थियो। अहिले चुमभ्याली क्षेत्रमा गणना गर्न लागिएको हो। 

चेक ग्लोब र चेक एकेडेमिक अफ साइन्सको एक टोलीले हिउँचितुवाको गणना सुरु गरेको हो। “सन् २०२१ मा नुब्री क्षेत्रमा ८० दिन लगाएर गणना गर्दा चारवटा चितुवा फेला परेका हिमचितुवाविज्ञ डा. विक्रम श्रेष्ठले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “चुमभ्याली क्षेत्रमा गणना गर्दै छौँ, हेरौँ कति फेला पार्न सकिन्छ।” उक्त तथ्याङ्क प्रारम्भिक रहेकाले विस्तृत अध्ययन भने हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। हिउँचितुवाका विषयमा विद्यावारिधि गर्नुभएका श्रेष्ठको नेतृत्वमा, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विषयमा स्नातकोत्तर गरेका सचेत तिमिल्सिनासहित वन रेन्जरहरूको टोली गणना गर्न त्यसतर्फ लगेको छ। 

“यस पटक हामी चुमभ्यालीमा गएर अध्ययन गर्छौं,” उहाँले भन्नुभयो, “हामी त्यहाँ गएर तीन सय वर्गकिलोमिटरमा ग्रिड छुट्याएर ६० वटा क्यामरा राख्छौँ। प्यालास्का पनि खोज्ने हाम्रो योजना छ।”

उहाँका अनुसार प्यालास्का भनेको बिरालोभन्दा अलि ठूलो एक प्रकारको जङ्गली जनावर हो। यो जनावर पहिलो पटक सन् २०१२ मा मनाङमा फेला परेको थियो। यस पटक गणनासँगै हिउँचितुवाको बासस्थान रहेको मुख्य ठाउँको गणना सकिने उहाँको भनाइ छ। हिउँचितुवा लोपोन्मुख प्राणी हो। 

नेपालमा २५०० भन्दा माथि ५५०० मिटरसम्म हिउँचितुवाको बासस्थान रहेको अनुमान छ। “यो लोप हुँदै जानुको मुख्य कारण मानिससँगको द्वन्द्व नै हो,” श्रेष्ठले भन्नुभयो, “दोस्रो कारण यसको आहाराको कमी हुनु हो। बासस्थानमाथिको अतिक्रमण आदिले पनि हिउँचितुवाको सङ्ख्या घट्दै गएको देखिन्छ।” 

नेपालमा करिब चार सय हिउँचितुवा रहेको अनुमान छ। अबको ८० दिनभित्र गणना कार्य सम्पन्न गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो। गणनाका क्रममा प्राप्त रिपोर्ट सरकारलाई बुझाउने उहाँले जानकारी दिनुभयो। “हामी एउटा क्यामरा एक ठाउँमा ६० दिन राख्छौँ,” उहाँले भन्नुभयो, “त्यसको डेटाहरू लिएर अध्ययन गर्न केही समय लाग्छ। करिब ८० दिनमा अध्ययन सकिनेछ।”