जीवछ यादव
लहान, मङ्सिर २७ गते । लगातार तीस वर्षको सङ्घर्षपछि नेकपा एमालेका केन्द्रीय सदस्य गङ्गाप्रसाद यादवको सांसद बन्ने सपना पूरा भएको छ। उहाँ सामानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बन्नुभएको हो।
उहाँ तीस वर्षदेखि निरन्तर सांसद बन्ने प्रयासमा हुनुहुन्थ्यो। २०४८ सालको निर्वाचनमा सिरहा–१ बाट एमालेका उम्मेदवार बनेका उहाँले तत्कालीन नेकपा संयुक्तका उम्मेदवार चन्द्रशेखरलाल कर्णलाई पार्टीकै निर्देशनमा समर्थन गर्नुभयो। २०६४ सालमा संविधान सभा सदस्यको उम्मेदवार भएर पराजित हुनुभयो। यसैगरी २०७४ सालको चुनावमा सिरहा–१ बाट उम्मेदवार भएका उहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रदीप गिरीबाट पराजित हुनुभएको थियो। २०५४ सालको स्थानीय निर्वाचनमा बस्तीपुर गाउँपालिका अध्यक्ष हुनुभएका यादव नेकपा (एमाले) सिरहाको पुरानो नेतामध्येमा पर्नुहुन्छ।
नेकपा (एमाले)ले पुराना नेता यादवलाई समानुपातिक सूचीबाट सांसद चुनेर न्याय गरेको नेपाली कांग्रेसका समर्थक भरत यादवको भनाइ छ। उहाँले भन्नुभयो, “गङ्गाप्रसाद यादवलाई समानुपातिक प्रणालीबाट भए पनि सांसद बनाएर नेकपा (एमाले)ले न्यााय गरेको छ। नेपाली कांग्रेसलगायत अन्य पार्टीहरूले यस्तै योगदान गरेका नेताहरूलाई समेटन आवश्यक देखियो।”
यसभन्दा अगाडि यस्तै पुरानो इतिहास बोकेका नेता धर्मनाथप्रसाद यादवलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेर सकारात्मक सन्देश प्रवाह गरेको नेकपा (एमाले)ले यस पटक गङ्गाप्रसाद यादवलाई सांसद चुनेर उपयुक्त निर्णय गरेको नागरिक अगुवा दिनेश यादवले बताउनुभयो।
विद्यार्थी कालदेखि नै यादवले नेकपा (एमाले) निकट राजनीतिमा संलग्न हुनुहुन्थ्यो। आफूले सदनमा जनताको पक्षमा निरन्तर आवाज उठाउने प्रतिक्रिया दिनुभयो।
यसैगरी महिला अधिकारको क्षेत्रमा निरन्तर योगदान गर्दै आएकी सम्झना थपलियालाई एमालेले खस आर्य समूहबाट समानुपातिक सांसदमा गरेको सिफारिसप्रति पनि एमाले समर्थित महिलाहरूले खुसी व्यक्त गरेका छन्।
नेकपा (एमाले) जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले उहाँहरूको योगदानलाई कदर गर्दै पार्टीले समानुपातिक प्रणालीबाट चयन गरेको जानकारी दिनुभयो। २०७९ सालमा सम्पन्न सङ्घ र प्रदेशको चुनावमा एमाले सिरहा–१ बाट रामशङ्कर यादव र सिरहा–३ बाट लीलानाथ श्रेष्ठलाई चुनाव जिताउन गङ्गाप्रसाद यादव र सम्झना थपलियाले योगदान गरेको प्रसङ्ग उहाँले जोड्नुभयो।