काठमाडौँ, मङ्सिर २६ गते । नेपाल प्रहरी श्रीमती सङ्घ र सशस्त्र प्रहरी परिवार महिला सङ्घको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकहरूद्वारा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उहाँहरूका आश्रित परिवारलगायत स्थानीयसमेतलाई सहयोग पुग्ने गरी शिविर आयोजना गरिएको नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुसुमलता सिंहले जानकारी दिनुभयो ।
मङ्सिर २४ गते बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा परिसरमा र २५ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको थियो । स्वास्थ्य शिविरमा नेपाल प्रहरीका ७२ जना तथा सशस्त्र प्रहरी बल नेपालका १३२ जना र स्थानीय सर्वसाधारण ११६ जना गरी कुल ३२० जनाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा निःशुल्क रूपमा औषधि वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुसुमलता सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यसै गरी सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो प्रदान गर्नुभएको थियो ।