• ७ मंसिर २०८१, शुक्रबार

कार्यान्वयन भएन ‘मेट्रोसिटी’ योजना

blog

काठमाडौँ, मङ्सिर २६ गते । उपत्यकालाई व्यवस्थित सहर निर्माण गर्दै एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) निर्माण गर्ने योजनाको सात वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । 

साबिक स्थानीय तह पुनर्संरचना आयोगले सात वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकामा एकीकृत विकासका लागि उपत्यकामा मेट्रोसिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो । उपत्यकालाई मेट्रोसिटी निर्माणको प्रक्रिया अगाडि बढाउने जिम्मेवारी उपत्यकास्थित स्थानीय तहका नगरप्रमुखको भए पनि त्यसतर्फ स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान सकेको छैन । 

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले उपत्यकाको एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) आवश्यक भएको भन्दै त्यसलाई स्थानीय तहका नयाँ जनप्रतिनिधिले अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकाका सबै नगरप्रमुख रहेको उपत्यका मेट्रोपरिषद् निर्माण गरी उपत्यकालाई व्यवस्थित सहर निर्माणका लागि मेट्रोसिटी आवश्यक छ ।” 

उपत्यकाको एकीकृत विकास गर्न, आर्थिक रूपान्तरणसहित सबै किसिमका सरकार र निकाय बीचमा समन्वय, सहकार्य गर्न र साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्न आयोगले उपत्यका मेट्रोसिटीको प्रस्ताव गरेको थियो । 

साबिक स्थानीय तह पुनर्संरचना आयोगका सदस्य माधव अधिकारीले काठमाडौँ उपत्यकाको एकीकृत विकासको प्रमुख आधार नै मेट्रोसिटी भएकाले आयोगले सरकारलाई सिफारिस गरे पनि मेट्रोसिटी निर्माणको पहल अब स्थानीय तहका जनप्रतिनिधिले गर्नुपर्ने बताउनुभयो । 

उहाँका अनुसार मेट्रोसिटी निर्माणका लागि आयोगले सरकारलाई गरेको सिफारिसमा उपत्यकाका सबै नगरप्रमुख रहेको उपत्यका नगरपरिषद् निर्माण गर्ने, उक्त परिषद्लाई प्रदेश सरकार बराबरको अधिकार प्रदान गर्ने, उपत्यकाका नगरप्रमुखले नै छनोट गरेका व्यक्तिलाई उक्त संरचनाको प्रमुख बनाई सो संरचनालाई प्रशासनिक तथा राजनीतिक अधिकार प्रदान गर्ने गरी मेट्रोसिटीको अवधारणा अगाडि सारिएको थियो । उहाँले भन्नुभयो, “उपत्यकालाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यले सरकारलाई सिफारिस गरिएको मेट्रोसिटीको अवधारणाबारे स्थानीय तहका नयाँ जनप्रतिनिधिलाई बुझाउनु आवश्यक छ ।”

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले उपत्यकाको प्राकृतिक, भौगोलिक र सांस्कृतिक वातावरणसमेत समान भएकाले उपत्यकाको दीर्घकालीन विकासका लागि मेट्रोसिटी निर्माण गर्न अहिले उपयुक्त समय भएको बताउनुभयो । उहाँले अहिले स्थानीय तहमा दोस्रो कार्यकालका लागि आएका नयाँ जनप्रतिनिधिले उपत्यकाको एकीकृत विकासका लागि मेट्रोसिटी निर्माण गर्ने ठीक समय भएको बताउनुभयो ।

उहाँका अनुसार उपत्यकावासीलाई महानगरस्तरीय सेवासुविधा प्रदान गर्न, पूर्वाधार व्यवस्थापन गर्न, वैदेशिक लगानी आकर्षण गर्न, स्रोतको उचित रूपमा व्यवस्थापन गर्न नेपालमा मेट्रोसिटी आवश्यक छ । त्यस्तै अनियन्त्रित बसोबास नियन्त्रण गर्न, अन्तर्राष्ट्रियस्तरको खेलमैदान, रङ्गशाला, विमानस्थल निर्माण गर्न उपत्यकालाई मेट्रोसिटी निर्माण गर्नुपर्छ । 

सङ्घीय व्यवस्था भएका मुलुक अमेरिका, भारत, मेक्सिको, अर्जेन्टिना, जापान, फिलिपिन्समा राजधानी सहरको एकीकृत विकास गर्न मेट्रोसिटी निर्माण गरिएका छन् । उहाँले भन्नुभयो, “यहाँका नगरपालिकाको आयस्रोत र भूगोल सानो भएकाले एक्लैले सामूहिक समस्या समाधान गर्न नसकिने भएकाले उपत्यका मेट्रोसिटी निर्माण गर्नुपर्छ ।” उपत्यकामा नदी नियन्त्रण, सहरी यातायात, ढल निकास, अन्य विकास पूर्वाधारको योजनालाई दिगो र एकीकृत मापदण्डअनुसार कार्यान्वयन गर्ने उपयुक्त संरचना छैन । उपत्यकामा हरेक पालिकाको योजना छ तर यसले समग्र उपत्यकालाई समेट्न नसक्ने नेपाल नगरपालिका सङ्घले जनाएको छ ।