• १२ मंसिर २०८१, बुधबार

क्यान्सर र मिर्गौला बिरामीलाई मासिक पाँच हजार

blog

मीना कंडेल

कावासोती, मङ्सिर २५ गते । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीहरुका लागि मासिक पाँच हजार उपलब्ध गराएको छ । तीन महिनाको अवधिमा नगरपालिकाले ५८ जनालाई ८ लाख ६५ हजार आर्थिक सहायता गरेको हो ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीहरुको उपचारका लागि ८ लाख ६५ हजार प्रदान गरिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभयो । 

नगरपालिकाका ३८ जना क्यान्सरका बिरामीलाई १५ हजारका दरले रकम प्रदान गरिएको छ । त्यस्तै २० जना मिर्गौलाका बिरामीलाई १५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको हो। जसमा ९ जनाले मिर्गौला प्रत्यारोपण गरेको र ११ जनाले डायलासिस गराइरहेका छन् ।  

अहिले नगरपालिकाले सो रकम उपलब्ध गराए पनि नेपाल सरकारले दिने र यसका लागि सोधभर्ना मागेको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीहरुले मासिक ५ हजारका दरले उपचार वापतको रकम पाउने र प्रत्येक तीन–तीन महिनामा उनीहरुलाई १५ हजारका दरले प्रदान गरिने उहाँले बताउनुभयो । 

उक्त रोगहरुसम्बन्धी बिरामी ७५ जनाको हाराहारीमा हुनसक्ने उहाँको भनाइ छ ।