• १३ असोज २०८१, आइतबार

मलको न्यून मौज्दात

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, मङ्सिर २५ गते । बाँकेमा हिउँदे सिजनका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै रहेको छ । यो मागको एक तिहाइ मात्रै हो ।

बाँकेमा हालसम्म ९८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट १३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ । साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताउनुभयो । 

हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मलको चरम अभाव हुने देखिएको छ । मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था रहेको छ । व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । 

यसैबीच कृषि सामग्रीले कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकाका सहकारी संस्थालाई मल वितरण सुरु गरेको छ । जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री कम्पनीले जनाएको छ । 

बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया र दुई हजार पाँच सय मेट्रिक टन डीएपी मलको माग छ । हालसम्म साल्ट ट्रेडिङमा ७०१ मेट्रिक टन मल आएको छ । तर, उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । 

साल्ट ट्रेडिङमा हिउँदे सिजनका लागि १७५ मेट्रिक टन डीएपी मलको कोटा रहेकोमा हालसम्म ७७.८५ मेट्रिक टन मात्र आएको छ ।