• १२ असार २०८१, बुधबार

भैरहवामा चैतबाट अनिवार्य उडान

blog

काठमाडौँ, मङ्सिर २५ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ ।

यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसाय बढाउन गरेको निर्णय हाललाई चार महिनाका लागि पछि सारिएको प्राधिकरणले जनाएको छ ।

गौतम बुद्व विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले यसअघिको प्राधिकरणको निर्णयमा केही परिवर्तन भए पनि हाल उडान गर्दै आएका र उडान तालिका स्वीकृत भएका हवाई कम्पनीको उडान यथावत् रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत गर्ने प्राधिकरणको पूर्वतयारीअनुसार हाललाई अनिवार्य भनिएको उडान निर्देशनमा केही परिमार्जन गरिएको हो । चैत १२ देखि सुरु हुने ग्रीष्मकालीन उडान तालिका अनुसार भैरहवामा उडान गर्न प्राधिकरणले थप निर्णय गर्नेछ ।”

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगामी साताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्ने तयारी रहे पनि स्पेनिस कम्पनी सान्जोसेले निर्माण सामग्री हटाउन नसक्दा समय सारिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनाले मङ्सिरको अन्त्यबाट धावनमार्ग मर्मतको काम सुरु गर्ने तयारीअनुसार प्राधिकरणले योजना बनाएको थियो तर दुई पटकसम्म टेन्डर गर्दा पनि निर्माण कम्पनीले साइटबाट सामान पन्छाउन नसकेपछि यो काम आगामी मार्चसम्मलाई सारिएको हो ।”

यसअघि आगामी चैत ११ सम्म रहने हिउँदे उडान तालिकाअनुसार भैरहवाबाट दैनिक एक उडान अनिवार्य गरेपछि प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको काठमाडौँबाट हुँदै आएका उडान कटौती गरेको थियो ।

हिमालयले कात्तिक १७ गतेदेखि भैरहवाबाट मलेसियामा चार्टर उडान सुरु गरेको थियो भने निगमले पुस ४ गतेबाट साताका तीन उडान गर्ने तयारी गरेपछि कटौती भएका उक्त उडान फुकुवा भएका थिए । त्यस्तै अङ्ग्रेजी नयाँ वर्षदेखि विदेशी हवाई कम्पनीलाई समेत दैनिक एक उडान भैरहवाबाट गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।

हवाई कम्पनीले भैरहवामा सहज हवाई रुट, यात्रु अभाव, म्यानपावर सेवा, मेडिकल, नयाँ श्रम स्वीकृति, अभिमुखीकरणलगायत सबै सेवा उपलब्ध नरहेको देखाउँदै अन्तर्राष्ट्रिय उडान भर्न आनाकानी गर्दै आएका छन् । भैरहवामा विमानस्थल सञ्चालनमा आएसँगै कुबेतको जजिरा एयरवेजको १६२ यात्रु क्षमता भएको न्यारोबडी उडाउँदै आइरहेको छ ।