काठमाडौं, मंसिर २४ गते । नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । छनोट हुनेमा पुरुषतर्फ पाँच र महिलामा एक खेलाडी छन् ।
पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट हुनुभयो । महिलातर्फ नेपाल वरियता एककी नविता श्रेष्ठ मात्रै छनोट हुनुभएको छ । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल हुनुभयो ।
शुक्रबार भएको समूह चरणमा विजयीहुँदै संयोग, रुविन, बिनेश र नविता छनोट हुनुभएको थियो । शनिबार भएको खेलमा पराजित भएपनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल हुनुभयो । अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा पराजित हुनुभयो । यसैगरी प्रदीप बंगलादेशका रामहिमलियान वानसँग ३–२ सेटमा पराजित भएपनि १६औं वरियतामा रहन सफल हुनुभयो ।
पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोटहुँदा पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई–दुई खेलाडी छनोट हुँदा माल्दिभ्सका एक खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।