• ३० वैशाख २०८१, आइतबार

धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई

blog

राँझा, मङ्सिर २४ गते । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जित्नुभएको छ । नेपालगञ्जमा आज (शनिबार) भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पार्नुभएको हो ।

म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी हुनुभयो । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सकेन्डमा पूरा गर्नुभयो । यसअघि सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जित्नुभएको थियो ।  

उपाधि विजेता खड्काले एक लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । दोस्रो भएका रावतले ६० हजार र तेस्रो भएका जोशीले ३० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै, आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँले सातौँ संस्करणकी समेत च्याम्पियन हुनुहुन्छ । उहाँले  निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै ६० हजार पुरस्कार प्राप्त गर्नुभयो । यस्तै, सो म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गर्नुभयो भने तेस्रो भएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गर्नुभयो । दुवै जनाले क्रमशः ३० हजार र १५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवम् नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिनुभयो ।

हरेक वर्ष मङ्सिर ५गते आयोजना गरिँदै आएको म्याराथन यसवर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताउनुभयो । प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो ।