• १३ असोज २०८१, आइतबार

लोसपाले बुझायो समानुपातिक उम्मेदवार सूची

blog

काठमाडौँ, मङ्सिर २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले समानुपातिकतर्फ प्रदेश सभा सदस्य पदका लागि तीन जनाको नाम छनोट गरी निर्वाचन आयोगमा पठाएको छ । आयोगले उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा दिएकोमा लोसपाले केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबाट उम्मेदवारको सूची स्वीकृत गराएर आयोगमा पठाएको हो । 

लोसपाका प्रवक्ता केशव झाले मधेश प्रदेश सभा सदस्यका लागि रूपाकुमारी यादव र रमिता प्रधानको नाम छनोट गरिएको जानकारी दिनुभयो । २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा यादवले मधेश प्रदेशमा प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको थियो । गत माघ महिनामा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा समेत उम्मेदवार रहेकी यादवलाई लोसपाले प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । 

त्यसैगरी प्रधान स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपालबाट मनरा सिस्वा नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । उहाँलाई लोसपाले मधेश प्रदेश सभा सदस्यमा अल्पसङ्ख्यक समूहबाट छनोट गरेको हो । 

लोसपाले लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ एक सिट पाएको छ । उक्त सिटमा हेमा बेलबासेलाई सिफारिस गरिएको छ । लुम्बिनी प्रदेश सभाको समानुपातिकतर्फ लोसपाले कुल सदर मतको २.१२ प्रतिशत अर्थात् ३७ हजार ६३१ मत पाएको   थियो । लोसपाले बुझाएको उम्मेदवारको बन्दसूचीमा बेलबासेको क्रम समावेशी समूहमा खसआर्यतर्फ पहिलो थियो । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले लोसपाको उम्मेदवार छनोटको सूची प्राप्त भएको बताउनुभयो । उक्त सूचीमा कुनै त्रुटि नभए आयोगले सिफारिस भएका उम्मेदवारलाई विजयीको घोषणासहित प्रमाणपत्र उपलब्ध गराउनेछ । त्रुटि देखिए पुनः दुई दिनको समय उपलब्ध गराएर आयोगले त्रुटि सच्याउन समय दिनेछ । 

आयोगले समानुपातिकतर्फ सिट पाएका राजनीतिक दललाई शनिबारसम्मको समयसीमा राखेर उम्मेदवारको सूची बुझाउन आग्रह गरेको छ । उक्त समयसीमाबमोजिम राजनीतिक दलले शनिबारसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यतर्फ आयोगमा बुझाइएको उम्मेदवारको बन्दसूचीबाट छनोट गरी सूची बुझाउनुपर्नेछ । त्यसका लागि राजनीतिक दलहरू आन्तरिक तयारीमा व्यस्त छन् । प्रतिनिधि सभाको समानुपातिकतर्फ सात र प्रदेश सभाको समानुपातिकतर्फ १३ राजनीतिक दलले सिट पाएका छन् ।