• ११ असोज २०८१, शुक्रबार

योग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

blog

एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा जित किनालेपछि बिनेश खनिया । तस्बिर : गोरखापत्र

काठमाडौं, मंसिर २३ गते । नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागीता पक्का भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिपको समूहको शीर्ष स्थानमा रहँदै चार खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा स्थान बनाउनस भएको हो । 

संयोग कपालीले लगातार दोस्रो जित निकाल्ने क्रममा माल्दिभ्सका मूसा मुन्सिफ अहमेदलाई ३–१ को सेटमा पराजित गर्न सफल हुनुभयो । समूह ‘डी’ मा संयोग चार अंक सहित शीर्षस्थानमा रहनुभयो । रुविन महर्जनले आफ्नो दोस्रो खेलमा पाकिस्तानका मुहम्मद शाह खानलाई ३–१ को सेटमा पराजित गर्नुभयो ।

उहाँले समूह ‘सी’ को पहिलो खेलमा रुविनले श्रीलंकाका भुवनेका निर्मल बान्देरा जयासिंघीलाई सोझो सेटमा पराजित गर्नुभयो । दुई खेलमा जित निकाल्दै समूह ‘एफ’ बाट बिनेश खनिया छनोट हुनुभयो । शुक्रबार भएको खेलमा शिवशुन्दर गोथेले बंगलादेशका रिवन खानलाई पराजित गर्दै छनोट हुने सम्भावना कायम राख्नुभएको छ । 

समूह ‘ए’ मा शिवको दुई अंक छ । यसैगरी समूह ‘ई’ मा प्रदीप रोका श्रीलंकाका प्रसाद जयशंका डि सिल्भासँग पराजित भएपनि छनोट सम्भावना कायम छ । महिलातर्फ शुक्रबार नै भएको समूह ‘एच’ को खेलमा नविताले बंगलादेशकी कोइ कोइ साइ मार्मालाई ३–१ को सेटमा पराजित गर्नुभयो ।

लगातार दुई सेट ११–९, ११–६ ले जितेकी नविता तेस्रो सेट ४–११ ले गुमाउनु भएको थियो । तेस्रो सटमा उत्कृष्ट पुनरागमन गर्दै नविताले सेट ११–७ ले जित्नुभयो । प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बन्नुभयो । समूह ‘एच’ मा नविताले दुई खेलबाट चार अंक जोड्दै शीर्षस्थानमा रहनुभयो ।

समूह ‘ए’ बाट भारतकी मनिका बट्रा, समूह ‘बी’ बाट भारतकी श्रीजा अकुला, समूह ‘सी’ बाट भारतकी रीथ रिस्या टेनिसन, समूह ‘डी’ बाट भारतकी अर्चना गिरिस कमाथ, समूह ‘इ’ बाट भारतकी दिया पाराङ चितल, समूह ‘एफ’ बाट भारतकी विमन्दी सन्दिन्सा  स्वा र समूह ‘एच’ बाट माल्दिभ्सकी फाथिमथ धिमा अलि छनोट हुनुभयो । अब आठ खेलाडी छनोट हुन बाँकी छ ।