• ११ असोज २०८१, शुक्रबार

भुवनलाई काठमाडौं ओपन गल्फ उपाधि

blog

उपाधिसहित भुवन नगरकोटी । तस्बिर : एनपीजीए

काठमाडौं, मंसिर २३ गते । सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सञ्चालित चार दिने प्रतियोगितामा भुवनले अन्तिम दिन शुक्रबार चार अन्डर ६४ खेल्नुभयो ।

उहाँले ७२ होलमा कूल १४ अन्डर दुई सय ५८ स्कोरसहित उपाधि चुम्नुभएको हो । यो भुवनको खेल जीवनको १०औं उपाधि हो । उपाधिसँगै भुवनले एक लाख १६ हजार रुपियाँ पुरस्कार पाउनुभयो । नौ स्ट्रोकले पछि पर्नुभएको दिनेश प्रजापती दोस्रो हुनुभयो । 

अन्तिम दिन ६ अन्डर ६२ खेल्नुभएका दिनेशले कूल पाँच अन्डर दुई सय ६७ स्कोर खेल्नुभयो । उपविजेता दिनेशले ७८ हजार रुपियाँ प्राप्त गर्नुभयो । अन्तिम दिन इभनपार ६८ खेल्नुभएका शुक्रबहादुर राई कूल एक अन्डर दुई सय ७१ स्कोरका साथ तेस्रो हुनुभयो ।

उहाँले ६३ हजार रुपियाँ हात पार्नुभयो । कूल तीन ओभर दुई सय ७५ स्कोर सहित रवि खड्का चौथो स्थानमा रहनुभयो । रविले ५० हजार रुपियाँ पाउनुभयो । कूल ६ लाख ७० हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको फाइनल चरणमा पुगेका २१ प्रोले आकर्षक नगद पुरस्कार हात पारेका छन् ।

एमेच्योरतर्फ अजित विक च्याम्पियन हुनुभयो । अजितले १७ ओभर दुई सय ८९ स्कोर खेल्नुभयो । तीन सय ११ स्कोरका साथ सुरेश तामाङ दोस्रो हुनुभयो । सूर्य नेपाल गल्फ टुरको सिजनको पहिलो प्रतियोगिताका विजेतालाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो ।