• ७ वैशाख २०८१, शुक्रबार

किसानलाई धान थन्क्याउन चटारो

blog

काठमाडौँ, मङ्सिर २३ गते । अहिले किसानलाई धान थन्क्याउने चटारो छ । दशैँतिहारदेखि नै ठाउँठाउँमा पाक्न थालेको धान मङ्सिर महिनासम्ममा आइपुग्दा किसानलाई धान थन्क्याउन भ्याइनभ्याइ भएको हो । 

यो वर्ष पर्याप्त वर्षा भएको र प्राकृतिक प्रकोपले धेरै क्षति नगरेका कारण राम्रो उत्पादन भएको छ । विभिन्न क्षेत्रको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढेको छ । 

प्रदेश १ मा उत्पादन वृद्धि

प्रदेश १ मा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ हजार दुई सय मेट्रिक टन धान उत्पादन वृद्धि भएको हो । 

प्रदेश १ मा यो वर्ष तीन लाख ३१ हजार ८९ हेक्टरमा धान खेती गरिएको थियो, जसमा १२ लाख ९८ हजार ८५५ मेट्रिक टन धान उत्पादन भएको प्रदेश १ को कृषि मन्त्रालयको तथ्याङ्क छ । यस प्रदेशमा तीन लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफल धान खेतीयोग्य मानिन्छ । 

मन्त्रालयका सूचना अधिकारी अभिमन्यु अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष पाँच हजार ३५ हेक्टर कममा धान खेती भए पनि उत्पादन बढेको छ । गत वर्ष १२ लाख ८२ हजार ५७३ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष प्रतिहेक्टर ३.९२ मेट्रिक टन उत्पादकत्व रहेको छ भने गत वर्ष ३.८२ मात्रै थियो ।

प्रदेश १ का तीन हिमाली जिल्ला (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु)मा ६३ हजार मेट्रिक टन र पहाडी जिल्ला (पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ)मा दुई लाख ५७ हजार १९१ मेट्रिक टन धान उत्पादन भएको अधिकारीले जानकारी दिनुभयो । तराईका जिल्ला सुनसरी, मोरङ र झापा गरी धान उत्पादन हुने मुख्य तीन जिल्लामा नौ लाख ७८ हजार ६५८ मेट्रिक टन धान उत्पादन भएको छ । 

धान भित्र्याउन किसानलाई चटारो

यस वर्ष बारामा प्रतिहेक्टर ४.२ मेट्रिक टन उत्पादकत्व रहेकाले एक लाख ४३ हजार २८३ मेट्रिक टन अगहनी धान उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रको छ । गत वर्ष ३४ हजार ११५ हेक्टरमा लगाइएको धानको उत्पादकत्व प्रतिहेक्टर ४.१५ रहेको थियो । गत वर्ष एक लाख ४१ हजार ५७७ मेट्रिक टन अगहनी धान उत्पादन भएको थियो । 

यस वर्ष प्रतिहेक्टर ४.३ मेट्रिक टन उत्पादकत्व रहेकाले ५१ हजार १९२ मेट्रिक टन भदैया धान उत्पादन भएको छ । 

बारा जिल्लामा करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गा भएकोमध्ये ५८ हजार हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र, कलैयाका प्रमुख जितेन्द्रप्रसाद यादवले बताउनुभयो । यसमध्ये ४२ हजार हेक्टर क्षेत्रफलमा पानीको पहुँच रहेको तथा बाँकी भेगमा वर्षाको पानीबाट खेती हुने गरेको छ । 

ज्ञान केन्द्रका सूचना अधिकारी तथा बाली विकास अधिकृत राजनारायणप्रसाद साहले भन्नुभयो, “यस वर्ष भदैया र अगहनी गरी ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । त्यसमध्ये ३४ हजार ११५ हेक्टर क्षेत्रफलमा अगहनी र ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा भदैया धानको खेती भएको छ ।” 

हराउँदै रैथाने प्रजाति, चिन्तामा किसान 

यस वर्ष महोत्तरीमा ४३ हजार ७५० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको थियो । अहिले यो थन्क्याउन धमाधम छ । यो वर्ष प्रतिहेक्टर औसत साढे तीन मेट्रिक टनका हिसाबले महोत्तरीमा १५ लाख चार हजार ५५५ मेट्रिक टन धान उत्पादन हुने ज्ञान केन्द्रको आकलन छ । ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत डा. रामचन्द्र यादवका अनुसार सरदरमा मनसुन राम्रो भएकाले उत्पादकत्व बढेको हो । 

धानका रैथाने प्रजाति हराउँदै गएकामा कृषक चिन्तित छन् । जमुनियाकी ७० वर्षीया आशादेवीले हराइसकेको एक दर्जनभन्दा बढी स्थानीय धानका प्रजाति अहिले नदेखिने बताउनुभयो । उहाँका अनुसार हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, गोखुलसार, साहमर्दन, मालभोग, बच्ची, जसवा, बाहरनी, मन्सरी प्रजातिका धान देखिन 

छाडिसकेका छन् ।

कृषि ज्ञान केन्द्र प्रमुख डा. यादवका अनुसार कम पानीमा पनि फल्ने, उत्पादन बढी दिने, छिटो पाक्ने र हिउँदेबाली पनि लगाउन सकिने भएकाले उन्नत (विकासे) प्रजातिका धानप्रति कृषकको आकर्षण बढ्दै गएको हो । 

उत्पादन बढ्यो तर मूल्य पाइएन 

नवलपुरमा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार नवलपुरमा धान उत्पादन गत वर्षभन्दा एक हजार मेट्रिक टन वृद्धि भएको छ । यस वर्ष १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो । गत वर्ष ७५ हजार ८२७ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ७६ हजार ९५६ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । 

धान खेतीको क्षेत्रफल विस्तार नभए पनि उत्पादकत्व वृद्धि भएकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत तथा सूचना अधिकारी शङ्कर पौडेलले 

जानकारी दिनुभयो । धानको उत्पादन बढे पनि किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारले निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुन नसक्दा किसान मर्कामा छन् । 

कर्णालीमा उत्पादन घट्यो

यस वर्ष कर्णाली प्रदेशमा धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस पटक छ हजार ५६० मेट्रिक टन अर्थात् ३ प्रतिशतले कम उत्पादन भएको हो । 

गत वर्ष कर्णालीमा एक लाख ७५ हजार ४६० मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष एक लाख ६८ हजार नौ सय मेट्रिक टन धान उत्पादन भएको छ । कर्णालीको कृषि विकास निर्देशनालयका कृषि अधिकृत माधव कोइरालाले गत वर्षभन्दा दुुई हजार हेक्टर क्षेत्रफलमा धान खेती विस्तार गरिएको भए पनि उत्पादन भने अपेक्षित नभएको बताउनुभयो । 

रोपाइँको समयमा मल उपलब्ध नहुनु, रोग कीराको प्रकोप, प्रतिकूल मौसम र प्राकृतिक विपत्ले बालीमा क्षतिलगायतका कारण उत्पादन बढ्न नसकेको बताइएको हो । 

कोइरालाका अनुसार गत वर्ष प्रदेशभर ४६ हजार ५८७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो वर्ष क्षेत्रफल बढाएर ४८ हजार १३३ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो ।

बेमौसमी वर्षाले प्रदेशका सबैजसो जिल्लामा धान उत्पादनमा असर गरेको बताइएको छ । सुर्खेतमा ७१ हजार २९४ मेट्रिक टन, मुगुमा पाँच हजार ४३४ मेट्रिक टन, दैलेखमा २६ हजार पाँच सय मेट्रिक टन, सल्यानमा ३० हजार ५५६ मेट्रिक टन धान उत्पादन भएको छ । 

गत वर्ष प्रदेशमा धानको उत्पादकत्व ३.६७ प्रतिशत रहेकामा यो वर्ष ३.५१ प्रतिशत देखिएको निर्देशनालयका कृषि अधिकृत कोइरालाले बताउनुभयो ।

(नवराज कट्टेल/रङ्गेली, शिवशङ्कर मिश्र/कलैया, रवीन्द्र उप्रेती/बर्दिबास, मीना कँडेल/कावासोती, रजनी योगी/सुर्खेतको सहयोगमा)