• १३ वैशाख २०८१, बिहिबार

चासोक तङ्नाम धुमधामसँग मनाइयो

blog

फुङ्लिङमा चासोक (न्वागी) पूजा गर्दै लिम्बू समुदायका पुजारी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २२ गते । ताप्लेजुङसहित पूर्व अर्थात् प्रदेश १ अन्तर्गतका जिल्लामा बिहीबार चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् । 

किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ चाड वा पर्व हुन्छ । 


महान् चाड चासोक तङ्नाम ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम लगायतका जिल्लामा लिम्बू समुदायले नयाँ बाली भित्र्याएको खुसीयालीमा चासोक तङ्नाम धूमधामसँग मनाएका छन् । ताप्लेजुङमा सदरमुकाम फुङ्लिङसहित गाउँ गाउँमा तङ्नाम (पर्व) को अवसरमा शुभकामना आदान–प्रदान, न्वागी पूजालगायत क्रियाकलाप गरेर मनाइएको छ । 

कार्यक्रममा लिम्बूले समुदायका नागरिकले आफ्नो मौलिक भेसभुसा र पहिरन लगाएर सहभागी भएका थिए भने अन्य समुदायका नागरिक समेत चासोक तङ्नाममा सहभागी थिए । याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), हाक्पारे, ख्याली (मौलिक गीत) जस्ता लिम्बूको संस्कार–संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुतिसहित चासोक तङ्नाम मनाएको किराँत याकथुङ चुम्लुङ ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङ्बोले बताउनुभयो । 


यसैगरी किराँत राई, सुनुवार, याक्खा लगायतका आदिवासी जनजाति समुदायले पनि मौलिक चाडका रूपमा बिहीबार उधौली पर्व मनाएका छन् । आ–आफ्नो संस्कार संस्कृतिअनुसार चण्डी नाच, सेलो नाच प्रदर्शनसँगै प्रकृतिको पूजा गरेर उधौली पर्व धूमधामसँग मनाएका छन् ।