काठमाडौं, मङ्सिर २२ गते । प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणाम आइसक्दा केन्द्रमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ भने प्रदेशमा पनि प्रत्यक्षतर्फ कांग्रेसले नै बढी सिट ल्याएको छ ।
सङ्घमा कसको नेतृत्वमा गठबन्धन सरकार बन्ला भन्ने कौतुहलताबीच प्रदेश सरकार पनि कसको बन्ला भन्ने त्यत्तिकै महत्त्वको विषय छ ।
प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ । एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ । एमालेले प्रतिनिधि सभामा पनि समानुपातिकतर्फ ३४ सिट पाएको थियो । दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेशसभामा ६४ सिट पाएको छ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा १४ सिट पाएको थियो भने प्रदेश सभामा २९ सिट जितेको छ ।
एमालेले प्रदेश १ मा समानुपातिकबाट १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिम ७ सिट पाएको छ । त्यस्तै, कांग्रेसले प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट प्राप्त गरेको छ ।
त्यस्तै, माओवादी केन्द्रले प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ४ र सुदूरपश्चिममा ३ सिट समानुपातिकमा पाएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १, सुदूरपश्चिममा १ सिट गरी कुल १७ सिट समानुपातिकबाट प्रदेश सभामा पाएको छ ।
त्यस्तै, प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकबाट ९, नेपाल मजदुर किसान पार्टीले २, जनता समाजवादी पार्टीले ९, जनमत पार्टीले ९, लोकतान्त्रिक समाजवादी पार्टीले ३, नेपाल सङ्घीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चा १, हाम्रो नेपाली पार्टीले १ सिट समानुपातिकबाट प्रदेश सभामा पाएका छन् ।
प्रदेश सभाको कुरा गर्दा सङ्घीय संसद्को जस्तै प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट नै सांसदहरू चुनिन्छिन् । प्रदेश १ मा प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ जना गरी ९३ जना सांसद हुन्छन् । प्रदेशमा समानुपातिकतर्फबाट सांसद चयन हुनका लागि दलहरूले १.५ प्रतिशत न्यूनतम मतभार कटाएको हुनुपर्छ । तर, कहिलेकाहीँ १.५ प्रतिशत मत कटाउँदैमा प्रदेशसभामा सिट प्राप्त हुन्छ भन्ने यकिन नहुने बताउनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद अर्याल ।
उहाँले भन्नुभयो, ‘‘प्रदेश सभामा दुईवटा प्रणाली छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट आउने सदस्य र समानुपातिक निर्वाचन प्रणाली तर्फबाट आउने सदस्य । अहिले हामी समानुपातिक निर्वाचन प्रणाली तर्फको कुरा गर्दैछौँ । मानौँ प्रदेश नम्बर १ मा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट ३७ जना र प्रत्यक्ष निर्वाचित ५६ जना । समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने सदस्यहरूका लागि प्रदेश १ मा प्रतिस्पर्धा गर्नुभएका राजनीतिक दलहरूले प्रदेशबाट कति मत प्राप्त गर्नुभयो ? पहिलो आधार त्यो भयो । त्यसपछि उहाँहरूले प्रदेश सभामा १.५ प्रतिशत न्यूनतम कटाएकै हुनुपर्छ । १.५ प्रतिशत कटाउँदैमा स्थान प्राप्त नहुन पनि सक्छ । सिटहरू जम्मा ३७ भएको हुनाले १.५ प्रतिशतले सिट नपाउन पनि सक्छ । यी दुईवटा आधार लिइसकेपछि अनि दलहरूले प्राप्त गरेकै मतलाई तालिकामा राखिन्छ ।’’
सहायक प्रवक्ता अर्यालले बाँडिनुपर्ने स्थानहरू जम्मा ३७ भएकाले १.५ प्रतिशत ल्याउनेले स्थान नपाउन सक्ने पनि बताउनुभयो । उहाँले यी आधारहरूबाट नै दलहरूले प्राप्त मतलाई तालिकामा राख्ने र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा जसरी नै सेन्टलग सूत्र प्रयोग गरी बिजोर ३७ वटा सङ्ख्याले भाग गरी स्थानहरू बाँडफाँट गरिने जानकारी दिनुभयो ।
सिटको बाँडफाँटपछि प्रतिनिधि सभामा जस्तै दलहरूलाई आएको भागअनुसार दलहरूले समानुपातिक बन्दसूचीमा बुझाएका नामबाट वर्ग समूह मिलाएर, महिलाको ३३ प्रतिशत सुनिश्चित गरी नाम पठाउन पत्राचार गर्ने गरिन्छ । सहायक प्रवक्ता अर्यालले दलहरूले पठाएको नामहरू कानुनबमोजिम मिले/नमिलेको हेर्ने र प्रतिनिधिहरू चयन भएको जानकारी गराइने व्यवस्था रहेको बताउनुभयो ।
सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘‘प्रतिनिधिस भाको समानुपातिक निर्वाचन प्रणालीमा जसरी सेन्टलग सूत्र प्रयोग गरिन्थ्यो । १, ३, ५, ७, ९, ११ गर्दै ३७ वटा यस्तो बिजोर सङ्ख्याले दलहरूले प्राप्त गरेको मतलाई भाग गरेर एउटा दलले कति सिट प्राप्त गर्छ, त्यो पहिचान गरिन्छ ।
पहिचान गरेपछि प्रतिनिधि सभामा जस्तै दलहरूलाई तपाईँहरूको भागमा यति सिट पर्यो प्रदेश नम्बर १ मा । तपाईँहरूले पेस गरेको बन्दसूची मध्येबाट वर्ग, समूह मिलाएर, महिलाको ३३ प्रतिशत पनि सुनिश्चित गरेर पठाउनुस् भनेर निर्वाचन आयोगले तत् तत् दललाई पठाउने काम हुन्छ । अनि दलले पनि त्यहीअनुसार नाम पठाइसकेपछि त्यसलाई अन्तिम रूप दिने काम गरिन्छ । र, प्रतिनिधिहरू चयन भएको जानकारी गराइन्छ ।’’
यसकारण फरक–फरक छ प्रदेश संसद्को आकार
उहाँले ७ प्रदेश सभामा सांसदहरूको सङ्ख्या भने फरक फरक रहेको बताउनुहुन्छ । प्रदेश १ मा ९३ जना संसदहरु रहने व्यवस्था छ भने मधेश प्रदेशमा १०७, बागमतीमा ११०, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्णालीमा ४० र सुदूरपश्चिम प्रदेशमा ५३ जना सदस्य रहने व्यवस्था रहेको छ ।
जनसङ्ख्या, भूगोल, यातायातको सुगमता, जनसाङ्ख्यिक बसोबास र सांस्कृतिक निरन्तरतालगायतका विभिन्न आधार मान्दा प्रदेशअनुसारको प्रदेश सभा सदस्यको सङ्ख्या फरक फरक छ । सहायक प्रवक्ता अर्यालले प्रदेश सभाको बनावटलाई हेरेर सबैको प्रतिनिधित्व हुनेगरी प्रदेश सभाको गठन भएको बताउनुभयो । उहाँले जनसङ्ख्याको आधारमा प्रतिनिधिको छनोट गर्नका लागि समानुपातिक निर्वाचन प्रणाली बनाइएको जानकारी दिनुभयो ।
महिला, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्र र अपाङ्गताको प्रतिनिधित्व
सहायक प्रवक्ता अर्यालले प्रदेश सभामा दलबाट ३३ प्रतिशत महिला सुनिश्चित हुनेगरी नाम पठाउनुपर्ने बताउनुभयो । बन्दुसूचीबाट प्रतिनिधित्व चयन गर्दा संघीय संसदमा एक तिहाइ महिला हुनेगरी चयन गर्नुपर्छ । कम्तीमा एक तिहाइ महिला हुनेगरी नाम सिफारिस गर्न निर्वाचन आयोगले दलहरूलाई पत्र लेख्छ । सोही अनुसार दलहरूले समानुपातिकमा मिलाउनुपर्नेछ । संविधानले विशेषतः दलहरूलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा अल्पसङ्ख्यक समुदाय, पिछडिएको क्षेत्र, अपाङ्गता भएको पक्षलाई पनि प्रतिनिधित्व हुनेगरी मिलाउनुपर्ने व्यवस्था गरेको छ ।
संविधानको धारा १६३ ले राष्ट्रपतिले ७ वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने हुन्छ । प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्छ । त्यसलगत्तै संविधानको धारा १६८ को उपधारा १ ले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ । तर प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहे प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरू मिलेर बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।
संविधानको धारा १८२ ले प्रदेश सभाको सभामुख र उपसभामुखको पनि व्यवस्था गरेको छ । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले प्रदेश सभामुख र उपसभामुख निर्वाचन गर्नेछन् ।
यसरी निर्वाचन गर्दा प्रदेश सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने र प्रदेश सभामुख वा उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनेछ । ७ वटै प्रदेशमा ७ जना नै सभामुख र उपसभामुख हुनेछन् ।