• ७ वैशाख २०८१, शुक्रबार

जाडो बढेसँगै बाँकेमा रुघाखोकी र ज्वरोका बिरामी बढे

blog

भेरी अस्पतालमा बिरामीको भिड । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगञ्ज, मंसिर २१ गते । जाडो बढेसँगै बाँकेमा मौसमी फ्लु, रुघाखोकी, कोल्ड डायरिया र निमोनियाका बिरामीहरू बढ्दै गएको विभिन्न अस्पतालले जनाएका छन् । केही दिन यता चिसो बढ्न थालेपछि ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएका बिरामीहरू अस्पतालमा आउने क्रम बढेको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले बताउनुभयो । 

रुघाखोकी र मौसमी फ्लुलाई सामान्य ठानेर बेवास्ता गर्दा निमोनियासमेत भएर अस्पताल आउने पनि बढ्दै गएको उहाँले बताउनुभयो । बालबालिका र बृद्धबृद्धामा बढी निमोनिया देखिएको डा. रिसालको भनाई छ । 

जाडो बढेसँगै अहिले भेरी अस्पतालमा मात्रै दैनिक दुई सय देखि तीन सय भन्दा बढीको सङ्ख्यामा रुघाखोकी र ज्वरोका बिरामीहरू उपचारका लागि पुगिरहेको अस्पतालले जनाएको छ । 

दुई–चार दिन पछिसम्म पनि रुघाखोकी र ज्वरो ठिक नभए उपचारका लागि अस्पताल पुग्न डा. रिसालको सुझाव छ । उहाँकाअनुसार चार पाँच दिनसम्म पनि रुघाखोकी र ज्वरो निको नभए स्वास्थ्यमा जटिल समस्या देखिने भएकाले तुरुन्त स्वास्थ्य जाँच गराउनु पर्छ । रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही गर्न नहुने उहाँले बताउनुभयो । 

यस्तै नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पनि हाल आएर मौसमी फ्लुका बिरामी आउने क्रम बढेको अस्पतालका सह निर्देशक डा.रोमन किदवाईले बताउनुभयो । 

उहाँले चिसो बढेसँगै रुघाखोकी, ज्वरो, निमोनिया र छालाका बिरामीहरू बढेको बताउनुभयो । शिक्षण अस्पताल नेपालगन्जमा मात्रै दैनिक दुई सय भन्दा बढी रुघाखोकी र ज्वरोका बिरामी पुग्ने गरेको सह निर्देशक डा. किदवाईले बताउनुभयो । 

यसै गरी नेपालगन्जस्थित विभिन्न निजी अस्पताल र क्लिनिकहरूमा पनि सयौँको सङ्ख्यामा रुघाखोकीका बिरामीहरू पुग्ने गरेका छन् । मौसम परिवर्तन र जाडोले सबैभन्दा बढी प्रभाव बालबालिकालाई परेको निजी क्लिनिक सञ्चालन गर्नु भएका वरिष्ठ बालविशेषज्ञ डा. शकील अहमदले बताउनुभयो । 

उहाँले गत एकसाता यता आफ्नो क्लिनिकमा आउने अधिकांश बालबालिका रुघाखोकी, ज्वरो, निमोनिया लगायतबाट ग्रस्त भएर आउने गरेको बताउनुभयो । बालबालिकालाई जाडो मौसममा सबैभन्दा बढी सुरक्षित राख्न सुझाव दिँदै उहाँले सामान्य रुघाखोकी लागे पनि तत्काल चिकित्सकलाई जँचाउन आग्रह गर्नुभयो । 

मौसमी फ्लु र रुघाखोकीको सङ्क्रमणबाट जोगिन मास्क लगाउनुका साथै सरसफाइ र चिसोबाट बच्नुपर्ने चिकित्सकहरूको सुझाव छ । चिकित्सकले न्यानो कपडा लगाउन, मन तातो पानी र झोलिलो पदार्थ खान, हरियो सागसब्जी र फलफूल खान समेत जोड दिएका छन् ।