• १५ वैशाख २०८१, शनिबार

मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन नेता सिंहको माग

blog

प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण बुझाउनुहुँदै नेता प्रकाशमान सिंह ।

काठमाडौं, मङ्सिर २० गते। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले खारेज भएको मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। 

मंगलबार काठमाडौंका नवनिर्वाचित सांसदसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षण पत्र बुझाउँदै उहाँले यस्तो माग गर्नुभएको हो। 

उहाँले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेसँगै मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भएर अन्यौलता देखिएको भन्दै सरकारले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने माग राख्नुभयो। नेता सिंहले मेलम्ची मुहान क्षेत्रका स्थानीय तहको माग पालिकासँग छलफल गरेर टुङ्गोमा पुर्‍याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। 

उहाँले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत भएको बताउनुभयो। नेता सिंहले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना कांग्रेस नेतृत्वमै सरकारले साकार पार्नु गौरवको विषय भएको बताउनुभयो। 

नेता सिंहले मेलम्ची बाढी पहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनर्निर्माण लगायतका उचित व्यवस्था गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो। उहाँले मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा विशेष पहल गर्नुपर्ने बताउनुभयो। 

उहाँले केही महिनादेखि सेवा सुविधा नपाएको भन्दै आयोजनाका कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेकाले सरकारले तत्काल कर्मचारीको माग सम्बोधन गरेर पानी काठमाडौं ल्याउने र स्थायी रूपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्यमा गम्भीरताका साथ काम अघि बढाउन ध्यानाकर्षण गराउनुभयो।