• १९ असोज २०८१, शनिबार

जर्मनीका फुटबल निर्देशकको राजीनामा

blog

ओलिभर बियरहोफ ।

काठमाडौं, मंसिर २० गते । चार पटकको विश्वकप च्याम्पियन जर्मनीका लागि कतारमा जारी विश्वकप फुटबल विर्सनलायक बन्यो । उपाधि चुम्ने लक्ष्यका साथ कतार पुगेको जर्मनी समूह चरणबाटै घर फर्कन बाध्य भएपछि टोलीका निर्देशक ओलिभर बियरहोफले पदबाट राजीनामा दिनुभएको छ ।

५४ वर्षीय ओलिभरले जर्मनीले टोलीको निराशाजनक प्रदर्शनलाई लिएर पद छाड्नुभएको हो । कतार विश्वकपमा समूह ‘ई’ बाट प्रतिस्पर्धा गरेको जर्मनी अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराएपनि स्पेनसँग गोल अन्तरका आधारमा पछि पर्दै बाहिरिन बाध्य भयो ।

समूहको पहिलो खेलमा जापानलाई २–१ गोलको नतिजा सुम्पिएको जर्मनीले समूहको दोस्रो खेलमा स्पेनसँग १–१ गोलको बराबरी खेलेको थियो । यस समूहमा जापान ६ अङ्क जोड्दै विजेता र चार अङ्क बनाएको स्पेन उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो । चार अङ्क बनाए पनि जर्मनी स्पेनसँग गोल अन्तरका आधारमा पछि परेको थियो । तीन अङ्क बनाएको कोस्टारिका अन्तिममा रहेको थियो । 

खेलाडी जीवनदेखि जर्मन टोलीका सक्रिय ओलिभरलाई कतारको नतिजाले भने दुःखी बनायो । उहाँ जर्मनी १९९६को युरोपियन च्याम्पियनसिप र सन २००२ को विश्वकपमा उपविजेता बन्दा जर्मन टोलीको मुख्य सदस्य हुनुहुन्थ्यो । सन् २००४ देखि टोलीको निर्देशकमा रहनुभएका ओलिभरको सक्रियतामा जर्मनले सन् २०१४ को विश्वकप उपाधि उचालेको थियो ।

जर्मन अघिल्लो संस्करणमा पनि समूह चरणबाटै घर फर्किएको थियो । ओलिभरको राजीनामापछि जर्मन फुटबल सङ्घका अध्यक्ष ब्रेन्ड नोइनड्रफले ओलिभरको योगदानको उच्च कदरसहित धन्यवाद दिनुभएको छ । अध्यक्ष ब्रेन्डले ओलिभर जर्मन फुटबलको उत्कृष्ट क्षणको साक्षीको रूपमा रहेको समेत टिप्पणी गर्नुभएको छ ।

कतार विश्वकपमा आफ्नो टोली समूह चरणबाट बाहिरिएपछि यसअघि मेक्सिकोका जेरार्डो मार्टिनो, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज र घानाका मुख्य प्रशिक्षक ओटो एडोले पनि आफ्नो पदबाट राजीनामा दिइसक्नुभएको छ । बीबीसी