• १४ वैशाख २०८१, शुक्रबार

मुखै रसाउने लटरम्म सुन्तला (फोटो फिचर)

blog

सिस्ने गाउँपालिका–७ र ८ मा फलेको सुन्तला । तस्बिर: जयमान बुढा मगर

जयमान बुढा मगर

रुकुम पूर्व, मङ्सिर २० गते । जिल्लाको सिस्ने गाउँपालिका–८ सुनखानाका भीउसन नाथको १० रोपनी  क्षेत्रफलमा सुन्तला बगैँचा छ । बगैँचामा दुई सय सुन्तलाका बोट छन् । सबै बोटमा सुन्तला लटरम्म फलेको छ ।

एक सिजनमा तीन लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन हुन्छ । अघिल्लो वर्ष उहाँले सुन्तला बिक्री गरेर दुई लाख जति आम्दानी गर्नुभयो । यो वर्ष पनि दुई लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्ने योजनामा हुनुहुन्छ । 

यो वर्ष सुन्तलाले राम्रो दाना लगाएको छ । एउटा बोटबाट चार हजार रुपैयाँको सुन्तला बिक्री भए पनि, एक सय बोटबाट चार लाख रुपैयाँ आम्दानी हुने उहाँको भनाई छ । सोही ठाउँका गोपाल पुनको ३४ रोपनी क्षेत्रफलमा एक हजार बोटको ठुलो सुन्तला बगैँचा छ । तीन सय बोटमा सुन्तला फलेको छ । अन्य बोट सानो भएकाले दाना लगाएको छैन । बितेको वर्षमा पुनले एक लाख ८० हजार  रुपैयाँको सुन्तला बिक्री गर्नु भएको थियो । 


उहाँहरू मात्र होइन यस वडाका अन्य कृषकले पनि सुन्तला खेतीमा आबद्ध हुनुहुन्छ । यस वडामा ३५ देखि ४० हाराहारीमा सुन्तलाका बगैँचा छ । उत्पादित सुन्तला मध्ये आधा सुन्तला कुहिएर खेर जाने गरेको किसान नरसिंह पुनले  बताउनुभयो । बाँकी रहेको आधा सुन्तला व्यापारीले सस्तो मूल्यमा लिने गरेको उहाँको भनाई छ ।  

चिस्यान केन्द्रको अभावमा वर्षेनी किसानले लाखौँ रुपैयाँ क्षति व्यहोर्नु परेको अर्का किसान कर्णबहादुर पुनले बताउनुभयो । वडाबाट सुन्तला खरिद बिक्री सुरु भइसकेको छ । डोकामा सुन्तला बोकेर हाल रहेको जिल्ला सदरमुकाम रुकुमकोट र रुकुम पश्चिम को मुसिकोट खलङ्गामा कृषकले सुन्तला पुर्‍याइ बिक्री गर्ने गरेका छन् । 


अहिलेसम्म वडामा चिस्यान केन्द्र निर्माण हुन सकेको छैन । सुन्तलालाई लक्षित गरेर गाउँपालिकाले चार वर्ष अघि निर्माण गरेको सङ्कलन केन्द्र प्रयोगमा आएको छैन । चिस्यान केन्द्रको अभावमा सुन्तला कुहिन नदिन स्याउला तथा सल्लाको कुसुममा सुन्तला भण्डार गर्नु पर्ने बाध्यता छ ।  

यो वर्ष पनि वडाको झिमखोला, पाटा, स्याल पाखा, लम्पाकोट, सुनखाना,र भुरूङ्गा लगायतको  ठाउँमा सुन्तला पाकेर पहेँला भएका छन् । किसानलाई सुन्तला टिप्न भ्याई नभ्याई छ । बजारीकरण नहुँदा किसानहरूले पुरानै शैलीमा सुन्तला भण्डारण गर्ने गरेको  पदमबहादुर बुढाले  बताउनुभयो । 

साबिकको स्याल पाखा गाविस अर्थात् हालको सिस्ने गाउँपालिका–७ र ८ नम्बर  वडामा बढी सुन्तला फल्छ ।  सिस्ने–८ का वडाध्यक्ष गोपाल पुनले  एक सय भन्दा बढी किसानले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेको बताउनुभयो ।


सिस्ने गाउँपालिकाले उत्पादित सुन्तला बजारीकरणको लागि आवश्यक पहल भइरहेको बताएको छ । यो वर्ष सिस्ने–८ मा रहेको साना किसान कृषि सहकारी संस्थासँग सहकार्य गरेर बजारको व्यवस्थापन गर्न लागिएको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले अर्को वर्ष सुन्तला भण्डारणको लागि रुकुमकोटमै चिस्यान केन्द्र निर्माण गर्ने बताउनुभयो । गाउँपालिका नजिकै चिस्यान केन्द्र निर्माण गरी पालिका भित्रका सुन्तला भण्डारण गर्ने उहाँको भनाइ छ ।