निशा राई
धरान, कातिक २९ गते । अर्थोडोन्टिक सम्बन्धि १६ औं अन्तर्राष्ट्रिय सम्मेलन धरान उपमहानगरपालिकामा सुरु भएको छ ।
अर्थोडोन्टिक एन्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएसन अफ नेपाल (ओडान) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आयोजनामा धरानमा भएको सम्मेलनमा १०१ जनाको सहभागी छ ।
जसमा ११ जना छिमेकी देश भारतको प्रतिनिधिहरू र ९० जना नेपालको प्रतिनिधिहरू रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एसोसिएट प्रोफेसर अर्थोडेन्टिस प्रभात रन्जन पोख्रेलले जानकारी दिनुभयो ।
सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञहरूले अर्थोडोन्टिक उपचार, क्लिनिकल अभ्यास, नयाँ उपकरण तथा प्रविधि, अनुसन्धान विधि तथा दन्त शल्यक्रिया विषयमा तालीम, कार्यशाला र शोधपत्र प्रस्तुत गरिरहनुभएको छ ।
विश्वका विभिन्न देशमा दन्त उपचारका क्षेत्रमा भइरहेको नवीनतम विकास, अनुभव तथा प्रविधिबारे ज्ञान लिन र साझा गर्न यस सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बिपी प्रतिष्ठानको उपकुलपति प्रा.डा.विक्रम श्रेष्ठले बताउनुभयो ।
नमिलेका दाँत तथा संरचनामा समस्याका कारण धेरै मानिस प्रभावित हुने भएकाले नियमानुकुल शल्यक्रिया र उपचारका लागि सरकारी तहबाट जनचेतना र नीतिगत सहयोग आवश्यक रहेको बताउनुभयो ।
नमिलेका दाँतहरू तथा समस्या भएकालाई शल्यक्रिया गरेमा सहज हुने गरेकोमा यसको लागि सरकारी स्तरबाट जनचेतना आवश्यक रहेको छ ।
यसका लागि राज्यबाट नीतिगत रूपमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।दन्त लगायतका विषयमा के कसरी कार्य स्याहार सुसार गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक रूपमा प्रशिक्षण कार्यक्रम र नेपालमा खासगरी दन्त शास्त्रको विशेष महत्त्व रहेको कारण यस विषयमा सम्बन्धित निकायको समेत ध्यानाकर्षण गर्नका लागि समेत सम्मेलन फलदायी हुने उपकुलपति प्राडा.श्रेष्ठको भनाइ छ ।
सम्मेलनमा भारतका चिकित्सक प्राडा.अभिषेक घोस, प्राडा.अभिषेक गुप्ता र डा.अभिराम चेरुकुरीले मटेरियल प्रयोग कम गरी सरल तरिकाले दन्त समस्या समाधान गर्न सकिने विषयमा शोधपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँहरूका अनुसार विशेष परिस्थिति र आर्थिक अवस्थाका कारण पनि धेरै बिरामीहरू दन्त समस्याबाट प्रभावित हुने भएकाले सहज उपचार प्रणालीको विकास महत्त्वपूर्ण रहेको छ ।
नमिलेका दाँत भएका व्यक्तिहरूको उपचारमा अझ सहज तरिकाले मटेरियल प्रयोग नगरी बनाउन सकिने भनी भारतका चिकित्सकहरूले शोधपत्र प्रस्तुत गरेका थिए ।
कुनै पनि मानिस विशेष परिस्थितिको कारण उक्त समस्याबाट गुज्रिन बाध्य हुने भन्दै यस समस्याबाट सहज रूपमा कसरी गर्न सकिन्छ भन्ने नै यसको मूल विषय रहेको प्रोफेसर अर्थोडेन्टिस पोख्रेलले बताउनुहुन्छ ।
यस सम्मेलनले दन्त उपचारका क्षेत्रमा विश्वका विभिन्न देशले गरेका विकास तथा अनुभवलाई जानकारी लिन तथा साटासाट गर्न सहयोग पुग्ने उहाँले बताउनभयो ।
यो कार्यक्रम धरानमा पहिलो पटक भएको हो। सोही सम्मेलनमा प्राडा.रविन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । दुई दिने सम्मेलन अन्तर्गत शुक्रबार कार्यशाला गोष्ठी सम्पन्न भएको छ भने शनिबार ११ वटा शोधपत्र प्रस्तुति हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
जसमा नेपालका स्नातकोत्तर गरेका अर्थोडेन्टिस चिकित्सकहरूले समेत आफनो शोधपत्र प्रस्तुत गर्ने छन । सम्मेलनमा नेपाल–भारतका प्रमुख प्रतिनिधिहरू, प्रोफेसरहरू तथा स्नातकोत्तर चिकित्सकहरूको सहभागिता रहेको थियो ।