• १६ चैत २०८०, शुक्रबार

दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता

blog

सवारीसाधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्दै ट्राफिक प्रहरी । तस्बिर : मीना कँडेल

कावासोती समाचारदाता

कावासोती, मङ्सिर २० गते । चिसो मौसम सुरु भएसँगै तराईका जिल्लामा बढ्दो हुस्सु र रातिको बेला भिजिबिलिटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको छ।

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले साइकल, ट्याक्टर र अटोरिक्सालगायतका विभिन्न सवारीसाधनमा स्टिकर टाँसेको हो। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले विभिन्न स्थानमा ‘ब्याक लाइट’ नहुने सवारीसाधनको पछाडि भागमा टल्किने रिफ्लेक्टिभ स्टिकर टाँस्न थालेको हो। ट्राफिक प्रहरीको नियमित काम र अभियानसँगै रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्य, बढी दुर्घटना हुने स्थानको पहिचान गरी न्यूनीकरणका उपाय, ट्राफिक लाइट सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदै आएको प्रहरीले जनाएको छ।

टाढैबाट टल्किने स्टिकर सजिलै देख्न सकिन्छ, जसले दुर्घटनामा कमी ल्याउन सकिन्छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले भन्नुभयो, “स्टिकर राख्दा टाढैबाट देखिने भएकाले दुर्घटना न्यूनीकरण हुने हुँदा अभियान चलाइएको हो।” रातिको समयमा स्टिकर नहुँदा यातायातका साधन ठोक्किन गई दुर्घटना हुने भएकाले प्रहरीले सबै सवारीसाधनमा स्टिकर टाँस्नसमेत आग्रह गरेको छ। कार्यालयले चालकलाई आफू बचौँ र अरूलाई बचाऊँ भन्ने अभियानअन्तर्गत मोटरसाइकल चालकले समेत सवारी चलाउँदा ध्यान दिनुपर्ने हुन्छ।  सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियमसम्बन्धी फिल्डमै प्रशिक्षण दिँदै आएका छन्। जाडोको समयमा हुस्सु, कुहिरो लागेका बेला सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सजगताका साथै बढी दुर्घटना हुने क्षेत्रमा डिभाइडर राखेर आवागमनलाई सहज बनाइएको छ।

ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न ‘चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारबाही, आफू बचौँ अरूलाई बचाऔँ’लगायतका अभियान नवलपुर प्रहरीले कार्यान्वयन गर्दै आएको छ। बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिकसम्बन्धी जानकारी गराउने उद्देश्यले सवारीचालकलाई सम्मान गर्दै सवारीसाधन चलाउँदा अनिवार्य रूपमा सिट बेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नशाजन्य चिज वस्तु सेवन गरी सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारीसाधन नचलाउन भन्दै सवारीचालकलाई एक मिनेट सचेतनामूलक सन्देश दिइरहेको छ।