• १४ वैशाख २०८१, शुक्रबार

मेलम्चीको पानी सुन्दरीजल आयाे : दैनिक १७ करोड लिटर वितरण हुने

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, मङ्सिर १९ गते । वर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी आज काठमाडौंको सुन्दरी जलमा आइपुगेको छ । 

सुरुङमा पथान्तरण गरिएको एक हप्तापछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको जानकारी मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमल राज श्रेष्ठले दिनुभयो । मेलम्चीबाट सोमबार मात्रै पानी सुरुङमा पठाइएको थियो । 

कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘‘निर्धारित समयमा नै वितरणको लागि पठाइनेछ। अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिनासम्म खानेपानी आपूर्ति हुनेछ।’’

यसैगरी,आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले पानी अहिले  सुन्दरीजल  आइरहेको छ भन्नुभयो । 

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा बाह्रै महिना वितरणका लागि आवश्यक प्रक्रिया तत्काल कार्यान्वयनका लागि अगाडि बढिरहेको समेत जानकारी दिइएको छ । 

वि.सं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्‍याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तेस्रो सातासम्म काठमाडौँमा पानी वितरण गरिएको थियो ।