• १२ साउन २०८१, शनिबार

कपाल प्रत्यारोपणको बढ्दो क्रेज

blog

काठमाडौँ, मङ्सिर १९ गते । मूलपानीका सुजित कार्की विवाहका लागि कपाल प्रत्यारोपण गर्न अमेरिकाबाट नेपाल आउनुभयो । माघ दोस्रो हप्ता उहाँको विवाहको साइत जुरेको छ । अगाडिको कपाल नभएपछि बिदा मिलाएर एक महिनापहिले नै नेपाल आउनु परेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अरू बेला त कपाल नहुँदा खासै चिन्ता थिएन तर विवाह पक्का भएपछि भने तालुपनाले साह्रै सताउँदो रहेछ ।” 

“विवाहजस्तो कुरा, अलि हिरो बन्नु प-यो नि,” उहाँ हाँस्दै थप्नुहुन्छ, “नेपालमा कपाल प्रत्यारोपण राम्रो, सस्तो र भरपर्दो भएकै कारण यहाँ आएको हुँ ।” 

कार्की मात्र होइन, मोडेल सुमन रञ्जित पनि आफ्नो करिअर अगाडि बढाउन कपाल प्रत्यारोपण गरेको जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कपाल नभएपछि मोडेल हुने मेरो इच्छा पूरा भएन । गत वर्ष कपाल प्रत्यारोपण गरेपछि भने आत्मविश्वास बढेको छ ।”

उहाँहरू मात्र होइन नेता, व्यवसायी, पत्रकार, बैङ्कका कर्मचारी, अभिनेता, गायक, मोडेल हजारौँले कपाल प्रत्यारोपण गरेका छालारोग विशेषज्ञ डा. धर्मेन्द्र कर्ण जानकारी दिनुहुन्छ । “मुडुलो टाउकोभरि कपाल उमार्न विदेश धाइरहनु पर्दैन,” उहाँ भन्नुहुन्छ, “विदेशमा गएर महँगो शुल्क तिर्नु पर्दैन । नेपालमै यस्ता चिकित्सक छन्; जसले हजारौँका टाउकामा रौँ उमारिसकेका छन् ।” 

“तालुपना भनेको रोग होइन, वंशाणुगत रूपमा आउने बुझ्नुपर्छ । यसको पनि समाधान छ,” डा. कर्ण भन्नुहुन्छ । कपाल प्रत्यारोपणप्रति आकर्षण बढ्दै गएपछि प्रत्यारोपणको कार्य गर्ने सोच बनाएको उहाँको भनाइ छ ।

कपाल झरेर वा विभिन्न कारणले तालुमा कपाल नभएका मानिस उहाँकहाँ कपाल प्रत्यारोपण गर्ने भन्दै आइपुग्छन् । डा. कर्णका अनुसार सुरुमा कपाल झर्ने कारण, समस्या लगायतबारे बुझ्नुपर्छ । “कुनै रोगका कारण कपाल झरेर तालुपना भएको हो भने पहिला त्यो रोगको उपचार गर्नुपर्छ । कुनै रोग छ कि छैन भनेर आधुनिक मेसिनबाट परीक्षण गर्छाैं । कुनै प्रकारको रोग छैन र प्रत्यारोपण नगरी कपाल आउने अवस्था छैन भने मात्रै हामी प्रत्यारोपणमा जुट्छौँ,” उहाँ भन्नुहुन्छ । उहाँका अनुसार तालुपना हेरेर आवश्यकताअनुसार १५ सयदेखि दुई हजार रौँ रोपिन्छ ।

छालारोग विशेषज्ञ डा. रूपक घिमिरे पनि तालुपनाबाट धेरैलाई छुट्कारा दिइसकेको बताउनुहुन्छ । तालुपनाको समस्यामा  तालुपछाडिको कपाल ल्याएर रोपिने उहाँको भनाइ छ । “९९ प्रतिशत कपाल प्रत्यारोपण सफल भएको र एक प्रतिशतमा भने समस्या आएको छ,” उहाँ भन्नुहुन्छ ।

कपाल प्रत्यारोपणबारे भ्रम

डा. घिमिरेका अनुसार कपाल प्रत्यारोपणबारे धेरै भ्रम छन्; जुन गलत हो । कपाल प्रत्यारोपण गर्दा दिमागमा असर पर्ने, क्यान्सर हुने भन्ने हल्ला बजारमा सुनिन्छ तर यो भ्रम मात्र हो । कुनै पनि रोग जस्तै– मधुमेह, उच्च रक्तचाप भएमा त्यसलाई नियन्त्रण गरिए केही पनि नहुने उहाँको दाबी छ । यस्तै डा. कर्ण पनि यस्ता हल्ला भ्रम मात्र भएको बताउनुहुन्छ । 

“दिमागसम्म पुग्ने भनेको कोसौँ टाढाको कुरा हो,” डा. कर्ण थप्नुहुन्छ, “छालाको माथिल्लो भागमा मात्र कपाल रोप्ने हो । त्यसैले कपाल प्रत्यारोपणपश्चात् कुनै रोग लाग्दैन ।” यसबाट आँखामा असर पर्छ भन्ने पनि गरिन्छ तर प्रत्यारोपण गर्दा टाउको, छाला र आँखाको कुनै सम्बन्ध नहुने डा. घिमिरे बताउनुहुन्छ । 

“म हेयर ट्रान्सप्लान्ट मात्रै होइन, छालासम्बन्धी सबै किसिमका रोगको उपचार गर्छु । उहाँहरूको नाम त भन्न मिल्दैन; मसँग नेपालका सुपरस्टारदेखि व्यापारी, मन्त्री, सचिव, सरकारी कर्मचारी र ठूला मिडियाका व्यक्तिहरू पनि आउनुहुन्छ,” डा. कर्ण भन्नुहुन्छ ।

व्यक्तित्व निर्माण मात्र नभएर शरीरलाई स्वस्थ राख्न पनि कपालको महत्वपूर्ण भूमिका हुन्छ । 

टाउकोमा कपाल हुँदा विशेष गरी महिलालाई सौन्दर्य झल्काउन सहयोग पु-याउँछ । त्यसैले बालकदेखि वृद्धसम्म सबैले आफूअनुकूल कपाल बनाउने गर्छन् । टाउकोमा कपाल नभएकै कारण जस्तोसुकै गर्मीमा पनि टोपी लगाई टाउको छोपेर हिँड्नुपर्ने बाध्यता पनि धेरैको छ ।