• १४ वैशाख २०८१, शुक्रबार

ओझेलमा पर्यटकीय पामडाँडा

blog

भरतपुर,  मङ्सिर १९ गते । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो । 

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेशलगायतका हिमशृङ्खलाको सुन्दर दृश्य देख्न पाइन्छ । मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ । प्रशस्त सम्भावना बोकेको ठाउँ पामडाँडा प्रचारप्रसारको अभावमा ओझेलमा परेको इच्छाकामना गाउँपालिका–५ का वडा सदस्य तारा गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बिहानै सूर्योदय हेर्न र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौलो घामले थप्ने सौन्दर्यले पामडाँडा बसिरहुँजस्तो लाग्ने भएको छ ।” 

 यहाँबाट तीन किलोमिटरको यात्रामा इच्छाकामना मन्दिर पुग्न सकिने राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य यानबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार पामडाँडाबाट इच्छाकामना मन्दिरसँगै तनहुँको छिम्केश्वरी र गोरखाको मनकामना मन्दिर देख्न सकिन्छ । पामडाँडा नजिकै रहेको साठीमुरेमा होमस्टे छ । 

पामडाँडामा पनि गुरुङ समुदायको होमस्टे सञ्चालन गर्ने योजना बनाइएको छ । गुरुङ समुदायको खुलाल जाति मात्रै बसोबास गर्दै आएको पामडाँडामा गोरखाको सिरानचोक गाउँपालिका चित्रपामबाट पुर्खाहरू यहाँ आएर बसेको उहाँले बताउनुभयो ।