• १६ चैत २०८०, शुक्रबार

विजेता महर्जनलाई खेलाडीको बधाई

blog

प्रदेश सभासद् मिनकृष्ण महर्जनलाई बधाई दिँदै खेलकर्मीहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, मंसिर १७ गते । जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश सभासद् विजेता मिनकृष्ण महर्जनलाई शनिबार बधाई र सफल कार्यकालको शुभकामना दिएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहनुभएका महर्जन डोजोका संरक्षक एव संस्थापक हुनुहुन्छ । आयोजक डोजो र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, करातेका वरिष्ठ प्रशिक्षक अक्बर शाह, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, कराँतेकर्मी, खेलाडी, प्रशिक्षकलगायतले महर्जनलाई कार्यकाल सफलताका लागि शुभकामना र बधाई दिनुभयो । 

महर्जनले ललितपुर क्षेत्र नं १ को प्रदेश २ (ख) मा नेपाली कांग्रेसबाट विजयी हुनुभएको हो । उहाँले एमालेका चेतनाथ सन्जेललाई चार हजार दुई सय १४ मतले पराजित गर्नुभएको थियो । खेलकुद पृष्ठभूमिका महर्जनले सभासद् बन्न खेल क्षेत्रको ठूलो योगदान रहेको बताउँदै बागमतीलाई खेलकुदमय बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । 

खेलाडी सङ्घका अध्यक्ष श्रेष्ठले खेलकुदकर्मीले हासिल गरेको जित प्रति खुसी व्यक्त गर्दै महर्जनले बागमती प्रदेशको खेलकुदलाई अझ चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा करातेतर्फ पदक जित्न सफल ललितपुरका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

सम्मानित हुने खेलाडीहरूमा स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ र रिना श्रेष्ठ, रजत विजेता विपिनराज सिंह दर्जी र कांस्य विजेता स्वीकार राई हुनुहुन्छ ।