• १९ असार २०८१, बुधबार

धानको मूल्य नपाउँदा किसान चिन्तामा

blog

फाइल तस्बिर

जीबछ यादव

लहान, मङ्सिर १७ गते । मलखादको समस्या झेल्दै आइरहेका सिराहाका किसानहरू यतिबेला धानको मूल्य नपाउँदा चिन्तामा परेका छन् । धानबाली भित्र्याएर गहुँबाली लगाउन र घरायसी समस्या टार्न किसानाहरु धान बिक्री गर्न जाँदा धान खरिद बिक्री केन्द्र (चटी) बालाहरूले सस्तो मूल्यमा धान खरिद गर्दा कृषक मारमा परेका हुन् ।

लहान –१३ का उपेन्द्र यादवले भन्नुभयो, “किसानलाई समस्यै समस्या छ । धान उत्पादनको समयमा महँगोमा मल खरिद गर्नुपर्छ, अहिले उत्पादन गरेको धान बिक्री गर्न जाँदा सस्तो मूल्यमा बेच्नुपर्छ ।” सरकारले कायम गरेको मूल्यमा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म धान खरिद गर्ने सूचना समेत प्रकाशित नगरेको उहाँले बताउनुभयो ।  

कृषक उपेन्द्र यादवले पोखेको चिन्ता यहाँका किसानको साझा चिन्ता हो । धानको उचित मूल्य वास्तविक किसानहरूले नपाएको नेपाल कृषक महासङ्घ सिराहाका अध्यक्ष प्रदीप दुनावारले भन्नुभयो । सरकारले तोकेको मूल्यअनुसार जिल्लामा धान बिक्री केन्द्र स्थानीय चटीवालाहरुले धान खरिद नगरेको उहाँको भनाइ छ ।

गाउँमा धान खरिद गर्ने बिचौलयाहरुको बिगबिगी रहेको स्थानीयले बताएका छन् । लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वास्तविक किसानको धान खरिद गर्नुभन्दा व्यापारीहरूको धान खरिद गर्ने भएकाले सरकारले तोकेको मूल्य किसानले नपाएको कृषकको सखुवानन्कारकटि –३ का अर्का कृषक तिरपित यादवले दुखेसो पोख्नुभयो । 

किसानलाई सहज रूपमा मलखाद र सरकारले तोकेको उचित मूल्यमा धान खरिद गर्न सम्बन्धित निकायले आनाकानी गरेमा आन्दोलन गर्ने किसानहरूले चेतावनी दिएका छन् ।  लहानस्थित खाद्य र धान गोदामको अवलोकन गरी कार्यालय प्रमुखहरूसँग भएको कुराकानी व्यवहारमा लागु नगरे आन्दोलनमा उत्रिने जनमत पार्टीका सचिव तथा सिरहा –२ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य सञ्जय यादवले बताउनुभयो ।