• १० मंसिर २०८१, सोमबार

उडी जाने मौरी (कविता)

blog

आकाशमा दिनहुँ 

उडी रहेका छन् मौरीहरू

आफू जन्मेको

थात थलो छाडेर

घार खाली गर्दै

सिमाना कटाइरहेका छन्

हुलका हुल

बथानका बथान मौरीहरू ।


साहु महाजनबाट लिएको ऋणको

चर्को ब्याज तिर्न नसक्दा

भएको सानो पुख्र्यौली सम्पत्ति पनि

लिलाम गरेर

उठीबास हुनु परेको 

पीडा बोकेर

वर्षौं पुरानो ठाउँ ठाउँमा च्यातिएको

आमाको धोती र बुवाको टोपी 

फेर्ने सपना साँचेर

बिहान, बेलुकाको छाक टार्ने 

धोको पूरा गर्न

लाग्दैछन् खाडीतिर 

यी कर्मीमौरीहरू ।


पारि डाँडामा फुलेर लाली छाएका सिमलहरू

बेँसीमा फुलेर सेताम्य भएका चिउरीहरू

बारीमा बाला छाडेका मकैका बोटहरू

बगैँचामा फक्रिएका सयपत्री, मखमली 

गुलाब र चमेलीहरूका कोमल अङ्गहरू  

भमरा र अरिङ्गालहरूबाट चिथोरिएका छन्

बलात्कृत भएका छन्

तिनका खस्रा दाह्री, जुँगा र 

ओठहरूको टोकाइबाट

आजित बनेका छन् ।


उनी रुँदै चित्कार गर्दै भनिरहेका छन्

उडी जाने कर्मीमौरीहरूलाई 

फर्क, आफ्नै फूलबारीमा, 

रस चुसेर लैजाउ

मह भर घारहरूमा 

केसर लैजाउ बटुलेर

आफ्नो पुस्ता धान

अनि,

फुलिरहेको बारीमा डुलेर

स्त्रीकेसर र पुङ्केसरको

मिलन गराउ र 

पोसिलो अन्नबालीको

वर्षा गराउ

तब खित्का छाडेर

हाँस्ने छन् 

आफ्नै बारी, भीर, पाखा र बेँसीहरू ।