• १० मंसिर २०८१, सोमबार

सगरमाथाको उचाइ

blog

निनाम लोवात्ती

याे वर्ष (विसं २०७९) शरद ऋतु (अटम सिजन)को हिमाल आरोहण गर्ने समय सकिएको छ । यो बेला हिमाल आरोहणको क्षेत्रमा विगतका वर्षभन्दा धेरै नै प्रगति भएको छ । शरद ऋतुमा नेपालका हिमालमध्ये ४१ वटा हिमाल आरोहण गर्न विश्वका ७७ देशका एक हजार २३८ जना पर्वतारोहीले अनुमति लिएका थिए । यसरी हेर्दा हिमालका सन्दर्भमा हामी नेपाली धेरै धनी रहेका छौँ । 

आठ हजार मिटरभन्दा अग्ला हिमाल मात्रै १४ वटा छन् । छवटा नयाँ हिमालले औपचारिक रूपमा नाम पाउन र उचाइ घोषणा हुन बाँकी छ । त्यस्तै नेपालमा सात हजार पाँच सय मिटरसम्मका हिमाल ४० वटा छन् । छ हजार मिटरदेखि सात हजार पाँच सय मिटरसम्मका हिमाल एक हजार २५३ वटा छन् (‘नेपाल पर्वत’ २०११, अक्टोबर) । विश्वकै अग्लो हिमशिखर सगरमाथा पनि सौभाग्यवश हामै्र देशमा रहेको छ । 

यहाँ सगरमाथाको अनेक नाम र उचाइ रहेको दाबी गरिएका बारेमा धेरथोर प्रकाश पार्ने जमर्को गरिएको छ । वि.सं. २०७७ मङ्सिर महिनाअघिसम्म सगरमाथाको उचाइ नेपालमा आठ हजार ८४८ मिटर र चीनमा आठ हजार ८४४ मिटर मानिन्थ्यो । फलतः नेपालतर्पmबाट सगरमाथा चढ्ने पर्वतारोहीले सगरमाथा आरोहण गरेको प्रमाणपत्र पाउँदा आठ हजार ८४८ मिटर र चीनतर्पmबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीले आठ हजार ८४४ मिटर भनी प्रमाणपत्र पाउँथे ।

वि.सं. २०७२ वैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो । यो भूकम्पपछि काठमाडौँ उपत्यकालगायत केही ठाउँमा केही सेन्टिमिटर भए पनि उचाइ बढेको पाइयो । यो तथ्य बाहिर आएपछि सगरमाथा हिमालको उचाइ पनि थपघट हुन सक्छ भनी धेरै विज्ञले आवाज उठाए । विज्ञको कुरो मनासिव लागेर नेपाल सरकार सगरमाथा हिमालको नयाँ उचाइ नाप्ने काममा जुट्यो । नेपाल सरकारले सगरमाथाको उचाइ बढेको वा घटेको के हो भनी वास्तविकता पत्ता लगाउन नापी विभागलाई जिम्मा दियो । नापी विभागले पनि यो कामका लागि विभागकै कर्मचारीको नेतृत्वमा अध्ययन तथा विस्तृत नाप–जाँचको काम गर्न एक अध्ययन टोली गठन ग¥यो ।

कर्मचारीको टोलीले सगरमाथा क्षेत्रमै गएर प्रत्यक्ष रूपमा काम ग-यो । टोलीले आपूmसँगै लगेको ‘ग्लोबल पोजिसनिङ सिस्टम’ मेसिनसहित सगरमाथा हिमाल चढेरै आफ्नो अध्ययन प्रतिवेदनलाई विस्तृत रूपमा तयार पा¥यो । यस क्रममा नापी विभागको यो टोलीले सन् २०१९ को वसन्त ऋतु (मे २२)मा सगरमाथा आरोहण पनि गरेको थियो । यो टोलीले गरेको विस्तृत अध्ययन र नाप–जाँचको प्रतिवेदन सार्वजनिक गर्ने तथा नयाँ उचाइ घोषणा गर्ने तयारी गर्दै गर्दा कोरोना भाइरसले विश्वलाई गाँज्यो । यो महामारीले नेपाल मात्रै अछुतो रहने कुरो भएन । कोरोनाका कारण सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने कार्यक्रम स्थगित हुन पुग्यो । त्यसपछि वि.सं. २०७७ मङ्सिर २३ मा नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा जुम भिडियोमार्पmत सगरमाथा हिमालको नयाँ उचाइ घोषणा गरियो । 

नेपाल सरकारले भने २०७७ मङ्सिर १० मा नै नापी विभागलाई सगरमाथाको नयाँ उचाइबारे सार्वजनिक गर्न स्वीकृति दिएको थियो । यसरी नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा घोषणा गरेअनुसार अब ‘सगरमाथा’को नयाँ उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर (२९ हजार ३१ दशमलव ०७ फिट) कायम रहेको छ । यसअघि अमेरिका, इटाली, स्विट्जरल्यान्ड आदि देशले सगरमाथाको उचाइ आठ हजार ८५० मिटर रहेको भन्दै आएका थिए ।

थरीथरीका नाम र उचाइ  

अङ्ग्रेजी भाषामा ‘एभरेस्ट’ र नेपाली भाषामा ‘सगरमाथा’ नाम राखिनुअघि यसलाई थरीथरी नामले पुकारिन्थ्यो । देवढुङ्गो, भैरवनाथ, गौरीशङ्कर, चरिलमेनी, थर्डपोल, द गडेस मदर अफ द अर्थ, गामा, मदर गडेस अफ द स्काई, झोमोलुङमा, धरतीकी देवी, पन्ध्रौँ चुली आदि । यसरी हेर्दा ऊ बेलाका खोज–अुसन्धानकर्ताले सगरमाथाको नाम थरीथरी जुराएका थिए तर गौरीशङ्करलगायत अन्य हिमाल अलग्गै हुन् भन्ने पत्ता लागेपछि सगरमाथाको नाम गौरीशङ्कर होइन रहेछ भन्ने पक्का भयो तर धेरै पछिसम्म पनि पर्वतारोही र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे खोजअनुसन्धान गर्नेहरूले ‘चोमोलुङमा’ नै भनेर लेखेको–बोलेको पाइन्छ ।  सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’को नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । यो बेला सर जर्ज एभरेस्ट भने आफ्नो सेवा अवधि सकेर अवकाश जीवन बिताइरहेका थिए । उनले सन् १८२३–१८४३ सम्म भारतको नापी विभागमा प्रमुख भएर काम गरेका थिए । त्यस्तै नेपाल सरकारका कर्मचारी रहनुभएका र पछि ‘इतिहास शिरोमणि’को उपाधि पाउनुभएका बाबुराम आचार्यले २०१० सालमा ‘चोमोलुङमा’को नेपाली नाम ‘सगरमाथा’ जुराउनुभयो । 

त्यस्तै ‘सगरमाथा’ हिमालको उचाइका सम्बन्धमा पनि सुरुसुरुमा एकरूपता थिएन । कहिले आठ हजार ८८८ मिटर, कहिले आठ हजार ८४० मिटर, कहिले आठ हजार ८५० मिटर, कहिले आठ हजार ८७२ मिटर, कहिले आठ हजार ८४४.४३ मिटर, कहिले आठ हजार ८४८ मिटर, कहिले आठ हजार ८४२ मिटर भनी प्रचारमा ल्याइन्थ्यो । यस्तो प्रचार धेरैजसो युरोपेली र उत्तर अमेरिकी पर्वतारोही तथा लेखकले गर्ने गरेका थिए । हुन त सर्वप्रथम सन् १८५२ मा सगरमाथा हिमालको उचाइ आठ हजार ८४० मिटर मानिएको थियो । व्यक्तिपिच्छे (पर्वतारोही तथा लेखक) तथा देशपिच्छे पनि सगरमाथा हिमालको उचाइ फरकफरक मान्न थालियो । जस्तो– ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथा हिमालको उचाइ आठ हजार ८७२ मिटर लेखिएको छ । त्यस्तै पे्रmन्च जोडीद्वयले लेखेको एक किताबमा यसको उचाइ आठ हजार ८४२ मिटर रहेको छ । 

विगतमा सगरमाथाको उचाइबारे विविध तथ्य भए पनि अहिले आएर नेपाल र चीन दुवै देशको सरकारद्वारा यसको नयाँ उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर 

(२९ हजार ३१ दशमलव ०७ फिट) कायम भएको छ । सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको (सन् १९२१) ३२ वर्षपछि अर्थात् सन् १९५३, मे २९ मा सगरमाथाको सफल आरोहण भएको थियो । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारीले सगरमाथाको शिरमा प्रथम पाइला सफलतापूर्वक टेकेका थिए । हुन त त्यसअघि पनि सन् १९५१ मा बेलायती टोली नेपालबाट सगरमाथा चढ्न गएका थिए । सन् १९५२ मा स्विस टोलीले पनि नेपालबाट एकै वर्षमा दुई पटक आरोहणको प्रयास गरेको थियो । स्विस टोली वर्षात्अघि आठ हजार ५९५ मिटरसम्म र वर्षात्पछि आठ हजार १६ मिटरको उचाइसम्म पुग्न सफल भएको थियो । सम्भवतः सगरमाथा हिमाल आरोहणको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली त्यही स्विस टोली थियो ।