• १२ वैशाख २०८१, बुधबार

सिनेमामा फुटबलका कथा–व्यथा

blog

सन् १९९४ को विश्वकपमा कोलम्बियालाई राम्रो टिमका रूपमा लिइएको थियो तर आन्द्रेइ स्कोबार नामका खेलाडीले गरेको आत्मघाती गोलले कोलम्बिया पहिलो चरणबाटै बाहिरिनु प-यो । पराजय बेहोरेर देश फर्केलगत्तै स्कोबार मारिए । कोलम्बियामा फुटबल खेलाडी स्कोबार मात्र नभई अर्का एक स्कोबार पनि थिए । उनी ड्रग डिलर थिए । उनको नाम पाब्लो स्कोबार थियो । यी दुवै स्कोबारलाई एउटै कथामा उनेर एउटा सिनेमा बनाइएको थियो । सिनेमाको नाम ‘द टु स्कोबार्स हो ।

यस्तै जर्मनीको म्युनिख रङ्गशालामा फुटबल खेल भइरहँदा भएको दुर्घटनाको विषयमा आधारित ‘म्युनिख’ सिनेमा बन्यो । यो पनि फुटबलको कथामा बनेको उल्लेखनीय सिनेमा हो । नेपाली चलचित्र ‘वल्र्ड कप इन नेपाल’ सिनेमाबारे चर्चा गर्नु पनि सान्दर्भिक हुन्छ । गोरखाको बारपाकका युवाको फुटबलप्रतिको रुचिलाई यसमा प्रस्तुत गरिएको छ । सिनेमामा अन्डर १९ मा खेल्ने फुटबल खेलाडी सुजन तामाङ, सागर लामा, उमेश थापा, एलिन न्यौपाने, ऋषि थापा मगर, आदित्य चौधरीलगायतले अभिनय गरेका छन् । यसमा नेपालको फुटबल सपनालाई सार्थक बनाउने प्रयास गरिएको छ ।

फुटबलकै विषयमा सिनेमा बनेका कारण यो सिनेमालाई धेरैले रुचाएका थिए । सिनेमाले नेपालका युवा खेलाडीलाई राम्ररी प्रोत्साहित गर्न पनि सघायो । नेपाल पनि विश्वकपमा पुग्न सक्छ भनेर यसमा देखाउन खोजिएको छ । फुटबल खेलमा आधारित यो पहिलो नेपाली सिनेमा हो तर विदेशमा यस्तो सिनेमा धेरै बन्छन् । फुटबलमाथि केन्द्रित भई बनेको अर्को नेपाली सिनेमा ‘क्याप्टेन’ हो । अनमोल केसीले प्रमुख भूमिका निर्वाह गरेको यस सिनेमामा आफ्नो पिताको अधुरो सपना पूरा गर्न फुटबल खेलमा लागेको युवकको कथा यसमा समेटिएको छ । पिताको सपना पूरा गर्न छोरोले फुटबल मैदान र जीवन यात्रामा गर्नुपरेको सङ्घर्षलाई यसमा प्रस्तुत गरिएको छ ।  विश्वविख्यात फुटबल खेलाडीमध्ये कतिपय खेलाडी कहिलेकाहीँ चलचित्रको रङ्गीन पर्दामा पनि देखिने गरेका छन् । म्याराडोना, जिनादिन जिदान र डेभिड बेकह्यामजस्ता खेलाडीको नाममा त सिनेमासमेत बनेको कुरा धेरैलाई विदितै होला । सर्बियाली सिनेमा निर्माता इमिर कुस्टुरिकाले अर्जेन्टिनाका विश्वविख्यात फुटबल खेलाडी म्याराडोनाको फुटबल जीवन र उनको निजी जीवनलाई सँगालेर सन् २००८ मा ‘म्याराडोना’ शीर्षकमै सिनेमा बनाएका थिए । म्याराडोनाका राम्रा नराम्रा दुवै पक्षलाई समेटेर बनाइएको यो सिनेमालाई उनको जीवनको छायाचित्रभन्दा पनि फरक पर्दैन । बेलायतका विख्यात खेलाडी डेभिड बेकह्यामको नाममा ‘बेन्ड इट लाइक बेकह्याम’ र फ्रान्सका जिदानको नाममा ‘जिदान : अ ट्वान्टी फस्र्ट सेन्चुरी पोटे«ट’ यसका उदाहरण हुन् । यी दुवै सिनेमालाई फुटबल विषयमा बनेका उत्कृष्ट सिनेमा मानिन्छ । जिदानको सिनेमामा उनले खेलेको एक प्रतिस्पर्धात्मक फुटबल खेलको आधारमा कथानक बुनिएको छ । फ्रेन्च र स्पेनिस भाषामा बनेको यस सिनेमाको निर्देशन डगलस गोर्डन र फिलिपी पोर्टेनोले गरेका हुन् । 

जिदानको सम्पूर्ण खेल शिल्प र कौशल उजागर गर्न सफल यो सिनेमाको छायाङ्कनका लागि खेल मैदानमा एकसाथ १७ वटा क्यामरा सञ्चालन गरिएको थियो । अर्को चलचित्र ‘बेन्ड इट लाइक बेकह्याम’मा बेलायतमा बस्दै आएका भारतीय आप्रवासी परिवारकी एउटी युवतीले डेभिड बेकह्यामजस्तै विख्यात फुटबल खेलाडी बन्ने उद्देश्यले अगाडि बढाएको फुटबल यात्रा र उनको सङ्घर्षलाई चित्रण गरिएको छ । यस चलचित्रको निर्देशक पनि आप्रवासी भारतीय गुरिन्डर चड्डा हुन् । फुटबल खेलमा मात्रै आफ्नो कौशल देखाउँदै आएका जिदान र बेकह्यामले सन् २००५ मा बनेको चलचित्र ‘गोल ! द ड्रिम बिगिन्स’मा आफ्नो अभिनय कौशल पनि देखाएका छन् । मेक्सिकन युवकको फुटबल खेलाडी बन्ने सपनामा आधारित यस सिनेमामा जिदान, बेकह्याम, रोनाल्डिनोलगायत फुटबल खेलाडीकै रूपमा प्रस्तुत भएका छन् । 

संसारका धेरै देशमा फुटबलको विषय लिएर सिनेमा बन्ने गरेका छन् । फुटबल खेलाडी बन्नका लागि गर्नुपर्ने सङ्घर्षका यात्रा नै त्यस्ता चलचित्रको मूल विषय हुने गर्छन् । ‘द इयर माई प्यारेन्ट्स वेन्ट टु भ्याकेसन’ पनि एउटा यस्तो सिनेमा हो, जसमा आफ्नो आमाबुबासामु आफ्नो खेल कौशल देखाउन आतुर माउरो नाम गरेका फुटबल खेलाडीको सङ्घर्षको कथा समेटिएको छ । 

सन् १९७० को विश्वकप नजिकिँदै गरेको पृष्ठभूमिमा तयार पारिएको यस सिनेमामा ब्राजिलको तत्कालीन राजनीतिक जटिलता चित्रण गरिएको छ । आफ्ना अभिभावक राजनीतिक परिस्थितिकै कारण विदेशिनु परेको कुराबाट अनभिज्ञ माउरो उनीहरू बिदा मनाएर छिट्टै फर्किऊन् र आफ्नो खेल कौशल हेरिदिऊन् भन्ने पर्खाइमा हुन्छ । अत्यन्त भावुक परिवेश बोकेको यो एउटा उल्लेखनीय सिनेमा हो । 

अहिले संसारको नक्साबाट युगोस्लाभिया भन्ने देश रहेन तर कुनै बेला यो देश फुटबलका लागि ख्याति कमाएको देश हो । युगोस्लाभियाको फुटबल प्रेमलाई उजागर गर्न निर्देशक भुक जानिचले सन् १९८७ मा एउटा सिनेमा बनाएका थिए, ‘द युगोस्लाभियन फुटबल टिम ।’ यस्तैगरी दक्षिण अफ्रिकाको रङ्गभेदी सरकारविरुद्ध आन्दोलन चलिरहँदा रुबेन आयरल्यान्डको एक जेलमा कैदी जीवन बिताइरहेका बन्दीको दिनचर्याको मुख्य अंश भनेको फुटबल खेल्नु पनि हो । उनीहरूको फुटबल प्रेमबारे बनेको सिनेमाको नाम चाहिँ ‘मोर द्यान जस्ट अ गेम’ हो । त्यही जेलमा नेल्सन मण्डेला पनि कैदी जीवन बिताइरहेका थिए ।  भुटानमा एकताका धेरै कम मात्र सिनेमा बन्ने गर्दथ्यो । ती थोरै चलचित्रमध्ये ‘द कप’ एउटा महìवपूर्ण सिनेमाका रूपमा परिचित छ । यस चलचित्रको निर्देशक बौद्ध लामा गुरु खेन्छे नोर्बु हुन् । निर्देशक नोर्बुले ‘द कप’मा विश्वकप १९९८ को प्रत्यक्ष प्रसारण हेर्न बौद्ध गुम्बामा टेलिभिजन भित्र्याउन एउटा बालक लामाले गरेको सङ्घर्षको कथा दर्साइएको छ । 

यसरी विभिन्न देशका सिनेमामा फुटबललाई रङ्गीन पर्दामा उतारिएका उदाहरण प्रशस्तै भेटिन्छन् । त्यस्तै एउटा चलचित्र ‘शाओलिन सकर’ पनि हो । हङकङको यस चलचित्रका निर्देशक स्टिफन चाओ हुन् । यस चलचित्रमा शाओलिन मन्दिरभित्र प्रचलित रहेको मार्सल आटर््सअन्तर्गतको एउटा खेल कुंग्फुलाई पुनः विश्वसामु पु¥याउन फुटबल खेलसँग मिश्रण गरी नयाँ खालको मार्सल आर्ट प्रादुर्भाव गरेको देखाइएको छ । हलिउड र बलिउडमा पनि फुटबल विषयका केही उल्लेखनीय सिनेमा बनेका छन् । तीमध्ये सबैभन्दा पहिलो ‘द आर्सनल स्टेडियम मिस्त्री’ हो । यो सन् १९३९ मा बनेको सिनेमा हो । 

थोरोल्ड डिकिन्सनले निर्देशन गरेको यस सिनेमामा एक जना खेलाडीलाई खेलकै दौरान हत्या प्रयास भएको देखाइएको छ । आन्डे«स वुडले निर्देशन गरेको ‘फुटबल स्टोरिज’ पनि एउटा राम्रो सिनेमा हो । यस्तै सन् २००८ मा बनेको स्पेनिस चलचित्र ‘रुडो वाइ कर्सी’ पनि फुटबल खेलमै आधारित दर्शनीय चलचित्र हो । यसमा गायक बन्न चाहने एक जना फुटबल खेलाडीको मर्मस्पर्शी कथा प्रस्तुत गरिएको छ । यस चलचित्रका निर्देशक कार्लोस कौरान हुन् । 

हलिउडका विश्वविख्यात अभिनेताहरू सिल्भिस्टर स्ट्यालोन र माइकल केनको प्रमुख भूमिका रहेको ‘इस्क्याप टु भिक्ट्री’ चर्चित सिनेमा हो । युद्धबन्दीको व्यथा यसमा दर्साइएको छ । बन्दीको टोली जर्मनीको राष्ट्रिय फुटबल टोलीमा सम्मिलित भई फुटबल खेल्छन् । विश्वविख्यात फुटबल खेलाडी पेलेले पनि फुटबल खेलेको दृश्य यसमा समेटिएको छ । पेलेको जीवन कथामा आधारित ‘पेले : द बर्थ अफ अ लिजेन्ड’ सिनेमा भने सन् १९१६ मा बन्यो । यो सिनेमाको निर्देशन जेफ जिम्बालिस्ट र मिशेल जिम्बालिस्टले गरेका थिए । सिनेमामा सङ्गीत भने भारतका सङ्गीतकार एआर रहमानले दिएका थिए । पेलेले फुटबल खेलाडीका रूपमा उदय हुन गर्नु परेको सङ्घर्ष र उनको पितासँगको सम्बन्धबारे यस सिनेमाको कथा हो । 

निर्देशक डेभिड सेर्रानोको स्पेनी चलचित्र ‘डियास डे फुटबल’मा आफ्नो एक साथीको आत्मविश्वासलाई फर्काउनका लागि फुटबल टिम खडा गरिएको कथा समेटिएको छ । स्कट्ल्यान्डमा निर्माण गरिएको ‘ग्रेगरिज गर्ल’ सिनेमामा ग्रेगरी नाम गरेका एक युवकले आफ्नी प्रेमिका फुटबल खेलाडी भएका कारण आफू पनि फुटबलको अध्ययनमा लाग्नु परेको प्रसङ्ग प्रस्तुत गरिएको छ । वाल्ट डिजीको प्रस्तुति ‘गोल’ युरोपको सुपर लिग खेल्ने एक खेलाडीको सपनामा आधारित सिनेमा हो । 

बलिउड अर्थात् हिन्दी चलचित्रको कुरा गर्ने हो भने फुटबलमा आधारित केही महìवपूर्ण चलचित्रमध्ये निर्देशक प्रकाश झाको चलचित्र ‘हिप हिप हुर्रे’, अनिल गांगुलीको ‘साहेब’, करण जोहरको ‘कभी अलबिदा ना कहना’, यश चोपडाको ‘मशाल’, विवेक अग्निहोत्रीको ‘दे दनादन गोल’ प्रमुख रूपमा रहेका छन् । ‘हिप हिप हुर्रे’मा विद्यार्थीलाई फुटबल प्रशिक्षण दिन नियुक्त नयाँ प्रशिक्षक र विद्यार्थीबीचको तनावलाई चित्रण गरिएको छ भने ‘साहेब’मा मध्यमवर्गीय युवकको फुटबल खेलाडी बन्ने सपना र आर्थिक अभावका कारण आफ्नै मिर्गौला बेच्नुपर्दा खेल जीवनमा आइपर्ने समस्यालाई दर्साइएको छ । 

‘कभी अलबिदा ना कहना’मा फुटबल खेलको दौरान दुर्घटनामा परी आफ्नो खुट्टामा उभिन नसक्ने खेलाडीले जीवनमा भोग्नु परेको कठिनाइलाई समेटिएको छ । फुटबलको खेलमा मध्यान्तरसम्म मैदानको एउटा भागमा खेल्ने टोली मध्यान्तरपछाडि अर्कै भागबाट खेल्नुपर्ने नियमलाई प्रतीकात्मक रूपमा प्रयोग गरी ‘मशाल’ सिनेमा बनाइएको छ । फुटबलको विषयमा बनेका अरू भारतीय चलचित्रमध्ये बङ्गाली भाषामा बनेको ‘मोहन बागानेर मेये’ र ‘धान्नी मेये’ पनि चर्चित चलचित्र हुन् । ‘धान्नी मेये’मा गाउँमा फुटबलका कारण सिर्जिएको समस्या र त्यसको निराकरणलाई चित्रण गरिएको छ । हास्यप्रधान चलचित्र ‘मोहन बागानेर मेये’मा तत्कालीन कलकत्ताको सुप्रसिद्ध फुटबल टिम मोहन बागानका प्रशंसक एक जना अभिभावकले आफ्नो छोरासँग विवाह गर्ने युवती पनि मोहन बागानको प्रशंसक नै हुनुपर्छ भनी सर्त राखेपछि सिर्जना हुने कठिन परिस्थिति प्रस्तुत गरिएको छ ।