• ५ वैशाख २०८१, बुधबार

परम्परागत बाजामा युवा आकर्षण

blog

काठमाडौँ, मङ्सिर १६ गते । सङ्गीतलाई माया गर्ने युवापुस्ताको कमी छैन । सङ्गीतलाई माया गर्नुको साथै परम्परागत बाजा सिक्नमा पनि उत्साहित छन् अहिलेका युवापुस्ता । “हामी युवापुस्ताले संरक्षण नगरे कसले गर्छ” लोकन्थली निवासी प्रनेश श्रेष्ठ भन्नुहुन्छ, “नेवारी संस्कृति, बाजा तथा परम्पराको संरक्षण हाम्रो हातमा छ ।”

ख्वप कलेज, भक्तपुरमा इन्जिनियरिङ अध्ययनरत उहाँलाई सधैँ पढ्नको चटारो हुन्छ। तैपनि इच्छा भए उपाय अनेक भनेझैँ साइन्सको विद्यार्थी भए पनि उहाँको बाँसुरी बजाउने दृढ चाहनाले पढाइलाई कुनै रोकतोक गरेको छैन। समय मिलाएर उहाँले बाँसुरी सिक्न थालेको वर्षदिन भइसक्यो। विभिन्न गीत र लयमा बाँसुरीबाट धुन निकाल्नुहुन्छ । 

बाँसुरी बजाउँदा श्रेष्ठ आफैँ मन्त्रमुग्ध त हुनुहुन्छ, सुन्नेहरू पनि आनन्दित हुन्छन् । विभिन्न कार्यक्रममा समेत प्रस्तुति दिनुभएको उहाँ भन्नुहुन्छ, “समूहमा बसेर बाँसुरी बजाउनुको मजा नै बेग्लै हुन्छ ।” 

बाँसुरी लोकबाजा हो, जुन काठमाडौँमा लोकप्रिय छ। विशेष गरी विवाह र उत्सवहरूमा बजाइन्छ। सोही कारण बाँसुरी बजाउनेको टोली १५ देखि ४० जनासम्मको हुन्छ।

उहाँ मात्र होइन डा.हरिष अधिकारीलाई पनि बाँसुरी धुन भनेपछि धेरै मनपर्ने बताउनुहुन्छ । सधैँ अस्पतालमा बिरामीको हेरचाहमा व्यस्त उहाँले पनि खाली समयमा बाँसुरी सिक्नुभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेवार समुदायमा हुर्केको हुनाले यो माहोलसँग म परिचित थिएँ, दाफा भजन समूहले तीन महिनासम्म सिकाउने भनेपछि मैले समय मिलाएर सिकेँ । नेवारी पोसाक लगाएर एउटा बिहेमा त बजाउन पनि गएँ, धेरै रमाइलो भएको थियो ।” सिद्धि गणेश भजन मण्डलका सञ्जय द्वारे भन्नुहुन्छ, “हामीले सिक्ने इच्छुक व्यक्तिलाई सिकाउने गर्छौं । बाजाको संरक्षणका लागि यो अत्यन्त महत्त्वपूर्ण भएका कारण बेलुका सिकाउने गर्छौं । प्रशिक्षार्थीहरू सँगसँगै बसेर बाजा बजाउँदा बेग्लै आनन्द हुन्छ। सबै उमेरका व्यक्ति आउने हुँदा हरेकलाई सिकाउँदा फरक–फरक अनुभव हुन्छ।” 

युवापुस्ताले निकै चाख मानेर नेवारी बाजा बजाउन सिक्न आउँदा उनीहरू दङ्ग हुन्छन्। केही समयअघिसम्म नेवार समुदायमा बाजा बजाउने भन्नासाथ महर्जन अर्थात् ज्यापुहरूलाई बुझिन्थ्यो। अहिले यो ट्रेन्डमा परिवर्तन आएको छ।

नेवार समुदायका श्रेष्ठ, मानन्धर, महर्जन, मुनिकार, ताम्राकार, कंसाकार, प्रजापतिलगायत सबै थरकाले बाजा बजाउनमा अभिरुचि लिएको पाइन्छ। 

यति मात्र नभई गैरनेवारहरूको उपस्थिति पनि बढ्दै गएको छ। बाहुन, क्षेत्रीहरूले समेत नेवारी बाजा बजाउन सिक्न थालेका छन् । पहिले–पहिले महिलाहरूले न धिमे बजाउँथे न त बाँसुरी नै। 

बाँसुरी प्रशिक्षक हरि महर्जनका अनुसार केही समयअघिसम्म नेवार समुदायमा पनि ज्यापुका पुरुषले मात्र चाडपर्वमा बाँसुरी र धिमे बजाउँथे। अहिले महिलाहरूको सहभागिता पनि बढेको । उहाँ भन्नुहुन्छ, “अहिले धेरैले आफ्नो संस्कृतिको महत्त्व बुझ्दैछन्, त्यसैले महिला÷पुरुष दुवै आफ्नो संस्कृति बचाउने काममा लागिपरेका छन् ।” 

नेवारहरूको प्रमुख बाजा भने काहा, कवता, धिमे, पोंगा, कान्तादबदब, पैताखीं, म्वालिंग कुकुवय, पछिमा, टिन्चु, भस्याहा वय आदि हुन् ।  यीमध्ये काठमाडौँमा लोकप्रिय रहेको धिमय् (धिमे) बाजा, रुखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ हो। यो बाजा काठमाडौँ उपत्यकाका नेवार समुदायमा सबैभन्दा प्रचलित छ।