• ८ वैशाख २०८१, शनिबार

मोरोक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

blog

क्यानडाविरुद्ध सट प्रहार गर्दै मोरोक्कोका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १५ गते । मोरोक्को र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह ‘एफ’ अन्तर्गत बिहीबार राति भएको खेलमा मोरोक्कोले क्यानडालाई २-१ गोलले हरायो । अर्को खेलमा क्रोएसियाले बलियो बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो ।


मोरोक्को समूह विजेता र क्रोएसिया उपविजेता बन्यो । जित्नै पर्ने खेलमा बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरियो । क्यानडा भने यसअघिनै बाहिरि सकेको थियो । 

अल थुमामा स्टेडियममा मोरोक्कोलाई जिताउन हाकिम जियच र युसुफ एन नेसरीले गोल गर्नुभयो । क्यानडाले आत्मघाती गोल उपहार पाएको थियो । 

खेलको सुरुवात देखिनै आक्रामक प्रदर्शन गरेको मोरोक्कोले चौथो मिनेटमै खाता खोलेको थियो । क्यानडाका गोलरक्षक मिलान बोर्जान डिबक्स बाहिर आएर क्लियर गरेको बललाई हाकिमले खाली पोस्टमा गोल गर्नुभएको थियो ।


हाकिमको करिव २५ यार्ड लामो प्रहारले सोझी जाली चुमेको थियो । त्यसपछि २३औं मिनेटमा युसुफ एन नेसरीले अक्रफ हाकिमीको पासमा गोल गर्दै मोरोक्कोको अग्रता दोब्बर बनाउनुभयो ।

४०अ‍ौं मिनेटमा मोरोक्कोका नायफ अगुर्डको खुट्टामा लाग्दै बल आत्मघाती गोल भएपछि क्यानडाले खेलमा फर्कने प्रयास गरेको थियो । तर दोस्रो हाफमा क्यानडाको गोल गर्ने प्रयासलाई मोरोक्कोको रक्षापंक्तिले विफल पारिदियो ।


यस जितसँगै मोरोक्कोले समूह चरणमा अपराजित यात्रा कामय राख्यो । तीन खेलमा सात अंक बनाएको मोरोक्को शीर्षस्थानमा रह्यो । सबै खेलमा पराजित क्यानडा अंकविहन बन्यो । 

यसैगरी अहमद विन अली स्टेडियमा भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियमले गोल गर्ने राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सकेन । बेल्जियमले दोस्रो हाफमा अनुभवी खेलाडी रोमेलु लुकाकुलाई मैदानमा उतारेपनि जित निकाल्न सकेन ।


लुकाकु ४६औं मिनेटमा ड्राईस मोर्टेन्सको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । पहिलो हाफमा राम्रा अवसर गुमाएको क्रोएसिया दोस्रो हाफमा रक्षात्मक देखिएको थियो ।

खेलको ९०औं मिनेटमा बेल्जियमले अन्तिम सुनौलो अवसर पाएको थियो । लुकाकु गोल लाइन नजिक पाएको बल गोल गर्न नसक्दा बेल्जियम विश्वकपबाट बाहिरियो ।


बराबरीसँगै पाँच अंक बनाएको क्रोएसिया उपविजेता बन्यो । चार अंक बनाएको बेल्जियम तेस्रो स्थानमा रह्यो । एजेन्सी