• ८ वैशाख २०८१, शनिबार

सुधारोन्मुख नेपाली पर्यटन

blog

नेपाली पर्यटन यतिखेर आशा र निराशाको दोसाँधमा उभिएको छ । कोभिड –१९ को महामारीबाट विश्व पर्यटन अत्यन्त पीडादायी अवस्थामा पुगेको स्थितिमा नेपाली पर्यटनसमेत अछुतो रहन सकेन । २०७२ वैशाखको विनाशकारी भूकम्पका कारण पीडित पर्यटन व्यवसाय छोटो अवधिमै कोरोना महामारीको अर्को पीडा सहन विवश भएको छ । कोभिड –१९ अघि सन् २०१९ मा हवाई र स्थल मार्गबाट कुल ११ लाख ९७ हजार १९१ पर्यटकलाई नेपालले आतिथ्य प्रदान गरेकोमा पर्यटक आगमन ओरालो लागेर सन् २०२० मा दुई लाख ३० हजार ०८५ तथा सन् २०२१ मा एक लाख ५० हजार ९६२ मा खुम्चिनु प¥यो । केही महिना यता विश्वका अधिकांशः मुलुकले कोभिड –१९ सङ्क्रमण उच्च बिन्दुमा पुग्दा आंशिक र पूर्ण रूपमा बन्द गरेका सीमा खोलेका, खोप अभियान तीव्र पारिएको, अन्तर्राष्ट्रिय हवाई सेवा पुनः सञ्चालन हुन थालेकाले विश्व पर्यटनमा सकारात्मक प्रभाव देखिने क्रमसँंगै नेपालमा पनि धरासायी पर्यटन उद्योग यस वर्षदेखि पुनरुत्थानको मार्गमा अघि बढेको सङ्केत देखिन थालेको छ ।

नेपालमा पर्यटन विकासले सात दशकको अवधिमा गति लिन सकेको छैन । अन्तर्राष्ट्रिय पर्यटक आगमन सन् १९५० मा अढाई करोड रहेकोमा सन् २०१९ मा एक अर्ब ४० करोड नाघ्नुका साथै १.७ ट्रिलियन अमेरिकी डलर आय आर्जन गरी करोडौँ व्यक्तिलाई रोजगारी प्रदान गरेको छ । दुई वर्ष धरासायी स्थितिमा पुगेको अन्तर्राष्ट्रिय पर्यटनमा आशाका किरण देखापर्न थालेको बेला यसवर्ष फेबु्रअरीमा स्वतन्त्र राष्ट्र युक्रेनमा रुसको आक्रमणपछि चर्कंदै गएको युद्ध, अफ्रिकाबाट सुरु भई विभिन्न राष्ट्रमा फैलिएको डेङ्गुको प्रकोप र आर्थिक मन्दीले उत्पन्न समस्या पर्यटनको पुनरुत्थानमा तगारो बने । विश्वका यी समस्याको प्रभावबाट दक्षिण एसियाली राष्ट्रहरू–नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का र भुटान सबै प्रभावित भएका छन् ।

दुई विशाल छिमेकी मित्रराष्ट्रहरू–भारतले सन् २०१९ मा एक करोड नौ लाखभन्दा बढी तथा विश्वको दोस्रो आर्थिक शक्ति राष्ट्र चीनले १४ करोड ५३ लाखभन्दा बढी विदेशी पर्यटकलाई आकर्षित गर्न सकेकोमा सन् २०२० र २०२१ मा पर्यटक आगमन ह्रासोन्मुख भएकोले यी दुवै मुलुक पनि कोभिड –१९ अघिको स्थितिमा फर्कन सङ्घर्षरत देखिन्छन् । यी दुवै राष्ट्रमा विदेशी पर्यटक आगमन पछिल्ला दुई वर्षमा निकै कम भएको परिवेशमा आन्तरिक पर्यटनमा उत्साहप्रद वृद्धि भएको छ । 

हालैका अवधिमा राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन, वल्र्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल, पाटा अन्तर्राष्ट्रियलगायत विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय सङ्घ संस्थाले गरेका अनुसन्धान अनुरूप विश्व पर्यटन कोरोना महामारीपूर्वको स्थितिमा फर्किने प्रक्रिया सुरु भए पनि पूर्णतः सन् २०१९ को स्थितिमा पुग्न अझै कम्तीमा एक वर्ष लाग्नेछ । विश्व पर्यटन सङ्गठनको पछिल्लो प्रतिवेदनअनुसार यस वर्ष जनवरीदेखि सेप्टेम्बर महिनामा करिब ७० करोड व्यक्तिले पर्यटकको रूपमा एकअर्का देशको भ्रमण गरेकाले डिसेम्बरसम्म अन्तर्राष्ट्रिय पर्यटन कोरोना महामारीपूर्वको ६५ प्रतिशत हिस्सामा पुग्नेछ । विविध प्राज्ञिक तथा यी संस्थाहरूको अनुसन्धानले सन् २०२४ को अन्त्यसम्म विश्व पर्यटन सन् २०१९ को स्थितिमा फर्किने औँल्याएको छ ।

अन्तर्राष्ट्रिय पर्यटन पुनरुत्थान प्रक्रिया तीव्र हुने क्रमसँगै एसिया–प्रशान्त क्षेत्रमा समेत पर्यटक आवागमनमा उल्लेख्य सुधार हुँदैछ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरू थाइल्यान्ड, सिङ्गापुर, मलेसिया र जापान तथा दक्षिण कोरियालगायतका देशले यो वर्ष पर्यटक आगमनमा उल्लेख्य सफलता हासिल गरेका छन् । विश्वका अधिकांशः राष्ट्र लाखौँ लाख चिनियाँ पर्यटकको स्वागतका लागि उत्सुक भइरहँदा चीन पुनः बढ्दो सङ्क्रमणका कारण विदेशी पर्यटकका लागि तत्काल आफ्नो भूमि खुला गर्ने मनस्थितिमा छै । चिनियाँ पर्यटकहरूको आतिथ्यका लागि प्रतीक्षारत नेपालसमेत विभिन्न राष्ट्रले लाखौँ लाख चिनियाँ पर्यटकलाई स्वागत गर्न अझै केही महिना र वर्ष कुर्नुपर्ने स्थिति छ । 

विश्वका कतिपय भूभागमा अन्तरिक्ष पर्यटनदेखि विलासितापूर्ण र गुणात्मक पर्यटन प्रवद्र्धनमा विभिन्न योजनाबद्ध कार्यक्रम सञ्चालन गरिएकाले नेपाल पनि परिवर्तित परिप्रेक्ष्यमा नवीन सोचाइ र कार्यक्रमअनुरूप अघि बढनु अत्यावश्यक छ । प्राकृतिक सौन्दर्य, हिमाल र संस्कृतिको बखान गरेर मात्र पर्यटन आगमनमा उत्साहप्रद वृद्धि हुन सक्दैन । नेपाली पर्यटन उद्योगलाई महामारीपूर्वको स्थितिमा फर्काउन आक्रामक बजार प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नु जति आवश्यक छ । देशभित्र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम पनि योजनाबद्ध रूपमा सञ्चालन गर्नुपर्छ ।

एकदशक अघि सेप्टेम्बर २०१२ मा आन्तरिक उडानमा रहेको विमान दुर्घटनामा सात ब्रिटिस नागरिकसहित १९ यात्रुको निधनपछि युरोपियन कमिसनले युरोपका २७ राष्ट्रमा नेपाली विमान उडान प्रतिबन्ध लगाएको, पदयात्रा र पर्वतारोहणमा आएका विदेशीहरूको उद्धार गर्ने नाममा ‘फेक रेस्क्यु’ बापत करोडाँै रुपियाँ लुट्ने निकायहरूलाई कुनै कारबाही नगरिएको कारण नेपालको प्रतिष्ठामा ग्रहण लागेको स्थितिमा विद्यमान छवि सुधार गर्न सरकार र निजी क्षेत्रको अग्रसरता र सामूहिक प्रयास खाँचो छ । यस्तै हालै सञ्चालनमा आएको गौतम बुद्ध 

अन्तर्राष्ट्रिय विमानस्थल र केही सातामै सञ्चालनमा आउने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम उपयोगका लागि पनि गम्भीर गृहकार्य आवश्यक पर्छ । 

नेपालको सन्दर्भमा पर्यटन मन्त्रालयको नेतृत्व परिवर्तन हुने क्रमसँगै बहालवाला मन्त्रीले प्रचारप्रसारमा आउन नयाँ गुरुयोजना सार्वजनिक गर्ने गरेका प्रशस्त उदाहरण छन् । पर्यटन मन्त्रालयका गतिविधिलाई सही दिशावोध र पारदर्शी बनाउन सहयोग गर्नु सट्टा पर्यटन व्यवसायका प्रतिनिधिमूलक संस्था दाबी गर्ने केही संस्थाले पनि आफूलाई व्यावसायिक रूपमा रूपान्तरित गर्नुभन्दा राजनीतिक दलका भातृ सङ्गठनको रूपमा प्रस्तुत गर्नु विडम्बनाको विषय बनेको छ । पर्यटनसंँग संस्थाहरूलाई राजनीति गर्ने थलो बनाउने गतिविधि नियन्त्रण गर्न अङ्कुश लगाउनु पर्छ । 

यस्तै विदेश उड्ने प्रत्येक पर्यटकबाट नेपाल पर्यटन बोर्डको खर्चका लागि हवाई टिकटमै जोडेर उठाइने प्रति यात्रु एक हजार रुपियाँ पर्यटन सेवा शुल्क खारेज गर्न अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन (आइटा) को नीतिअनुरूप नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अघि सारेको माग तत्काल कार्यान्वयन गरिनुपर्छ । साथै पर्वतारोहण र पदयात्रासँंग सम्बन्धित व्यवसायीका संस्थालाई तिनले उठाउने गरेका रायल्टीमा हालीमुहाली र दुरुपयोग रोक्न नयाँ गठन हुने सरकार र पर्यटन मन्त्रालयको ध्यान केन्द्रित हुनुपर्छ । 

निवर्तमान सरकारका पर्यटनमन्त्रीले अन्तिम अवधिमा सन् २०२३–२०३३ लाई पर्यटक दशकका रूपमा मनाउने र वार्षिक ३५ लाख पर्यटक भिœयाउने हचुवा घोषणा गरे । पाँच लाख पर्यटकलाई देशमा स्वागत गर्ने लक्ष्यका साथ घोषित सन् १९९८ को असफल नेपाल भ्रमण वर्ष, सन् २०११ को नेपाल भ्रमण वर्ष तथा वार्षिक २० लाख पर्यटकलाई स्वागत गर्ने उद्देश्यसहित घोषित तर बीचमै कोभिडको कारण रद्द गरिएको सन् २०२० को भ्रमण वर्षको उपादेयता र उपलब्धिको सिंहावलोकन गरी उपयुक्त कार्यक्रम सञ्चालन गरिएमा मात्र पर्यटनको पुनरुत्थान अघि बढ्नेछ । 

यस परिप्रेक्ष्यमा प्रचारप्रसारका लागि मात्र महìवाकाङ्क्षी योजनाअघि सार्नुको सट्टा देशमा पर्यटन पूर्वाधारको तीव्र विस्तार, संसारका परम्परागत र नयाँ गन्तव्यमा आक्रामक बजार प्रवद्र्धन तथा हवाई सेवाका निकै महँगो भाडाको पुनरवलोकनलगायतका कार्यक्रम सञ्चालन गर्न सकेमा पर्यटन क्षेत्रको पुनरुत्थान गति लिन सक्नेछ । पर्यटन क्षेत्रले तीन लाखभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको र अप्रत्यक्ष रूपमा अन्य लाखौँ व्यक्ति लाभान्वित भएका स्थितिमा यो क्षेत्रलाई योजनाबद्ध रूपमा अगाडि बढाउन सरकार तथा निजी क्षेत्रका व्यवसायीको सहकार्य हुनुपर्छ । 

चालू वर्ष सन् २०२२ को दस महिना (जनवरी–अक्टोबर) मा देशले चार लाख ७३, ५६३ पर्यटकलाई स्वागत गरिसकेको पृष्ठभूमिमा आशा गरौँ– सन् २०२३ अन्त्यसम्म नेपाली पर्यटन उद्योग कम्तीमा वार्षिक १० लाख पर्यटकलाई स्वागत गर्न सफल हुनेछ र कोरोना महामारीअघिको स्थितिमा फर्किनेछ ।