• १३ साउन २०८१, आइतबार

ठगी आरोपमा दुई जना पक्राउ

blog

काठमाडौँ, मङ्सिर १५ गते । वैदेशिक रोजगारीमा पोर्चुगल र अमेरिका पठाइदिने भन्दै लाखौँ रुपियाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

आकर्षक रोजगारीको प्रलोभन देखाएर पोर्चुगल पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट २१ लाख रुपियाँ लिएर सम्पर्कविहीन बनेकी सर्लाहीकी ३० वर्षीया धनकुमारी ओलीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । 

यस्तै रोजगारीकै लागि अमेरिका पठाउने भन्दै १४ लाख सात हजार रुपियाँ लिएर सम्पर्कविहीन बनेका रामेछाप घर भई ललितपुर बस्दै आएका ३४ वर्षीय योगेशराज श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले पनि अमेरिका जान २५ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै लाखौँ रुपियाँ ठगी गरेर फरार भएको प्रहरीले जनाएको छ । 

पछिल्लो समयमा युरोप, अमेरिका मात्रै होइन, मलेसियामा श्रमिक पठाउन लाखौँ रुपियाँ ठगी गरेको उजुरीका चाङ वैदेशिक रोजगार विभागमा छन् । ठगी नियन्त्रणको विषयमा मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसङ्गतिलाई रोक्न रोजगार व्यवसायीलाई निर्देशन दिनुभयो । 

मलेसिया शून्य लागतमा नेपालीबाट श्रमिक पठाउने व्यवस्था भए पनि मलेसिया पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले श्रमिकबाट मनलाग्दी रूपमा रकम असुलेको पाइएपछि मन्त्री कुँवरले म्यानपावर व्यवसायी ठगीको उजुरीका विषयमा सतर्क गराउनुभयो । 

पछिल्लो समय वैदेशिक रोजगारीका लागि पोर्चुगललगायत युरोपेली देश र अमेरिकामा पठाइदिने भन्दै ठगी गर्ने क्रम बढेको छ । यसरी कसैको प्रलोभन र विश्वासमा परेर पैसा नदिनसमेत मन्त्री कुँवरले आमनागरिकलाई आग्रह गर्नुभयो ।