• १३ साउन २०८१, आइतबार

बलात्कार कसुरमा दुई जनालाई १२/१२ वर्ष कैद फैसला

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर १२ गते । दुई जना बालिकालाई बलात्कार गरेको कसुरमा दुई फरक व्यक्तिलाई जिल्ला अदालत मुस्ताङले १२/१२ वर्ष कैद फैसला गरेको छ ।

१७ वर्षीय बालिका बलात्कार कसुरमा रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ घर भई घरपझोङ गाउँपालिका–५ बस्ने २२ वर्षीय अमित पुन र १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा घरपझोङ गाउँपालिका–२ बस्ने २० वर्षीय सौगात गोतामे भन्ने सौगात घतानेलाई जनही १२ वर्ष कैद र चार लाख जरिवाना तिराउने फैसला गरेको छ ।

जिल्ला अदालत मुस्ताङका न्यायाधीश ईश्वर पराजुलीको २०७९ मङ्सिर १२ गतेको इजलासले आरोपितहरुलाइ १२/१२ वर्ष कैद र ४/४ लाख रुपियाँ जरिवाना तिराउने फैसला गरेको हो । गत २०७९ कार्तिक १४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेस भएकोमा न्यायाधीश पराजुलीले उक्त फैसला सुनाउनु भएको जिल्ला अदालत मुस्ताङका श्रेस्तेदार मुकुन्द आचार्यले बताउनुभयो ।

आरोपित पुनले २०७८ साउन १४ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध २०७८ साउन १५ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरीले आरोपित पुनलाई सोही दिन थासाङ गाउँपालिका–४ घाँसाबाट गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएकोमा प्रहरी प्रतिवेदन पछि जिल्ला सरकारी वकिल कार्यालयले २०७८ भदौ ४ गते जिल्ला अदालत मुस्ताङमा अभियोगपत्र दर्ता गराएको थियो । 

अर्का आरोपित गोतामेले २०७८ साउन १४ गते राति १६ वर्षीय बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध २०७८ साउन १५ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरीले आरोपितलाई सोही दिन घरपझोङ गाउँपालिका–२ मार्फाबाट गिरफ्तार गरी अनुसन्धान गरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय मुस्ताङले २०७८ भदौ ४ गते जिल्ला अदालत मुस्ताङमा अभियोगपत्र दर्ता गराएको थियो ।