• १० मंसिर २०८१, सोमबार

मनास्लु पदमार्गको रौनक

blog

सागरसँग समेटिन आतुर बूढीगण्डकी बग्दै छिन्, एकतमासले सुसाउँदै तलतिर । सुसाइ यति बेस्सरी छ कि नजिकैबाट बोलेको पनि प्रस्टसँग सुन्नै सकिँदैन । बूढीगण्डकीलाई ठाउँको ठाउँ छेक्न/थुन्न दाउ हेरेजस्तो गरेर माथि भने अक्करे पहाड अजङ्गको छाती फुकाएर उभिएको छ । 

कठोर र डरलाग्दो देखिने पहाडले भने निक्खर हरियो बर्को ओढेको छ । यस्तो हरियालीबाट आँखालाई पनि अथाह आराम र शीतलता मिलिरहेछ । तिनै हरिया रुखबिरुवाका हाँगाहाँगा पातपातमा चराचुरुङ्गी चहार्दै छन् । चिरबिराउँदै छन् । पखेटा फट्फटाउँदै छन् । प्राकृतिक सुन्दरतामा यसले सुगन्ध थपिदिएको छ । यो सुन्दर मनास्लु मार्गमा अर्को आकर्षण थपिएको छ– साहस र कौशलले चट्टानी पहरा खोपेर बनाइएको पृथक् पुल जसलाई अङ्ग्रेजीमा ‘क्यान्टिलिभर फुटब्रिज’ भनेर चिनिन्छ । 

नेपालकै उदाहरणीय यो पुलको लम्बाइ १९५ मिटर छ । असम्भवजस्तो लाग्ने यो पुल निर्माण गर्दा भौगोलिक कठिनाइकै कारण हेलिकोप्टरबाट आवश्यक निर्माण सामग्री ओसारिएको थियो । करिब तीन करोड ८० लाख रुपियाँको लागतमा तीन महिनाको निरन्तर मेहनतपछि २०७३ सालको झरी सुरु हुनुअघि (सन् २०१६ जुन) यो पुल सञ्चालनमा आएको हो । नदीले बाटो बदल्दै बग्ने यस्तो प्राकृतिक संरचनाको पहाडी भेगमा यो नै एक मात्र उपयुक्त पुल (साधारण पुल बनाएर साध्य नलाग्ने) हुँदो रहेछ । 

२०७२ सालको विनाशकारी भूकम्पको धक्काबाट उत्पन्न बाढीपहिरो र बूढीगण्डकीमा आएको भेलले यारुबगरको काठेपुल बगाइदियो । जिल्लाको प्रमुख बजार आरुघाट जोड्ने एक मात्र पुल थियो त्यो । बाटो बन्द भएपछि गोर्खाको उत्तरी भेगमा बस्ने मानिस नुनतेल, दैनिक उपभोग्य खाद्य सामग्री र औषधिसमेतको अभाव बेहोर्न बाध्य भए, वर्ष दिनभन्दा बढी ।

यही आवश्यकता पूरा गर्न यो पुल निर्माण गरिएको हो । यो अत्याधुनिक पुल निर्माण गर्दा स्विट्जरल्यान्डको कम्पनीबाट इन्जिनियर बोलाइएको थियो । यी इन्जिनियरले चार सय नेपाली कामदारलाई तालिम दिए । तिनीहरूले नै झोलुङ्गे पुलमा नटबोल्ट कसेजस्तै बलियोसँग पुललाई अड्याउन भीरको भित्तामा लामो किला गाडे । धन्य छन् ती अदम्य साहस जुटाएर पसिना बगाएका नेपाली कामदार ! जसले चट्टाने पहाड खोपेर यस्तो अत्याधुनिक पुलको आकार दिन अहम् भूमिका निर्वाह गरे । पुल बनेपछि स्थानीय बासिन्दाको सुविधाका लागि मात्र होइन, मनास्लु गन्तव्यमा निस्कने पर्यटक पनि बिनाअवरोध अहिले पदयात्रामा जान सक्छन् । यो नमुना पुलले धार्चे गाउँपालिकालगायत गोर्खाका उत्तरी भेगमा पर्ने चुम–नुब्री गाउँपालिकावासीलाई सहज भएको छ । 

यो पुल हेर्न धेरै दिन खर्चनु पर्दैन । काठमाडौँबाट मात्र दुई दिनमा पुग्न सकिन्छ । निजी सवारीसाधनमा सात घण्टामा नत्र बसबाट भए आठ/नौ घण्टामा गोर्खाको आरुघाट हुँदैे सोतीखोला पुगिन्छ । भोलिपल्ट बिहान यहीँबाट पैदल यात्रा गर्नुपर्छ । लापुबेँसी, माछाखोला हुँदै खोर्लाबेँसीपछि पश्चिमी गोर्खाको यारुबगरमा यो पुल भेटिन्छ । पैदलयात्रा करिब छ/सात घण्टा गर्नुपर्छ । 

पहेँलपुर हुने गरी लहलहाएका छन् खेतमा धानका बाला । भ¥याङका खुड्किलाजस्ता ठाउँमा रुमालका बुट्टाझैँ देखिन्छ गुरुङ बस्ती । प्रदर्शनीमा राखिने उत्कृष्ट ल्यान्डस्कोपभन्दा अब्बल र सुन्दर देखिने यस्ता भूस्वरूप टपक्कै टिपेर लैजाउँ लाग्छ । मौलिक तथा परम्परागत संस्कृति झल्कने रहनसहन र रैथाने उपकरणका प्रयोगले विशेष आकर्षण थपिदिन्छ पैदलयात्रामा । यस्तै करेसाबारीमा विषादीरहित मौलाएका सागसब्जीसमेत उस्तै लोभलाग्दा छन् । स्वादिला सागसब्जी, गाईभैँसीका दूधदही, स्थानीय अण्डामासु, फलफूल र अर्गानिक अन्नजस्ता रसिलापोषिला खानेकुराको स्वादमा रमाउन पाउनु अर्को फाइदाको पक्ष हो यो पदमार्गको ।

शान्त, शीतल, पर्वतीय वातावरण । मगज र मुटुलाई शुद्ध पारिदिने वनफूलको सुगन्ध मिसिएको स्वच्छ, स्वस्थ, सिरसिरे हावा । जहाँ लामो र गहिरो श्वास लिँदा मात्र पनि महिनौँका लागि शरीरमा ऊर्जा भरिन्छजस्तो लाग्ने । पहाडको उचाइ नाप्दै जाँदा नजिक हुँदै आएका मनास्लु, गणेश, बुद्ध हिमालहरूले मन त्यसै त्यसै पुलकित हुने । संसारका आठ हजार मिटरभन्दा बढी उचाइका १४ हिमशिखरमध्ये एक मनास्लु हिमाल (८,१६३ मिटर) त उत्साहित भएर तलै झरेको भान हुने । आमाले हात थाप्दा काखमा आउन मुस्कुराउँदै उठेको बालकझैँ बनेर ।

खोलानालामाथि झुन्ड्याइएका अग्लाअग्ला झोलुङ्गे पुल हल्लिँदै तर्दा वरपरका मनमोहक दृश्य आँखामा ठोक्किन्छन् । कहीँ विदेशी पर्यटकसँग फरकफरक भाषामा कुराकानी गरिरहेका गाइड र भरिया भेटिन्छन् । सर्वाधिक पर्यटक चहलपहलको याम (अक्टोबर, नोभेम्बर)मा त यस्ता दृश्य बढी नै देखिन्छन् । 

यारुबगरमा रहेको ‘क्यान्टिलिभर फुटब्रिज’ पार गरेपछि दोभान, जगत, फिलिम हुँदै गरिने दुई दिनको पदमार्गमा गम्पुल भन्ने ठाउँ पुगिन्छ । यहाँबाट बायाँ लाग्दा पाँच हजार १६० मिटर उचाइमा अवस्थित नेपालकै सर्वाधिक लामो र कठिन हिमाली घाँटी (हिमाली भेगको साँघुरो बाटो) लार्केपास पुगिन्छ । दायाँको बाटोबाट भने पाँच हजार ९३ मिटरको उचाइमा फैलिएको चुम भ्याली पुगिन्छ । गम्पुलबाट चार घण्टाको पदयात्रापछि भेटिन्छ– सर्दिभीरमा निर्मित अर्को ९० मिटर लम्बाइको ‘क्यान्टिलिभर’ पुल; जुन चुम भ्याली पदमार्गमा पर्ने चुम्लिङ नपुग्दैको भीरमा रहेको छ । यहाँबाट चुम पुग्न अर्को दुई दिनको पैदलयात्रा गर्नुपर्छ ।

पर्वतीय पदयात्रामा बिहार, माटाका छोर्तेन, बौद्ध झन्डा आदि भेटिन्छन् । सहरी सकसबाट उम्केर आएका सहरियाहरू आधुनिकताबाट अछूत दूरदराजका उचाइमा अवस्थित गाउँघर देखेर दङ्ग पर्छन् । ल्हो गाउँको रिबुम गुम्बा होस् कि सामा गाउँको पुङ्गेन गुम्बा, नुम्ब्री भ्याली र चुम भ्याली, यी सबै हिमाली परम्परा र संस्कारका धरोहर हुन् । 

ढिलो (सन् १९९१ बाट) खुला गरिएको मनास्लु पदमार्ग तुलनात्मक रूपले अन्य क्षेत्रका पदमार्ग (अन्नपूर्ण, सगरमाथा पदमार्ग)भन्दा भौगोलिक हिसाबले विकट र नयाँ त हुँदै हो । लागत र पर्यटकको भीडभाडसमेत कम छ । यहाँ सीमित चिया पसल, रेस्टुरेन्ट, होटल छन् तर ती स्थानीय साधनस्रोत र प्रविधिबाट बनाइएका परम्परागत, मौलिक र लोभलाग्दा छन् ।

समुद्री सतहबाट ९४१ मिटरदेखि पाँच हजार १०६ मिटरसम्मको लम्बेतान दूरीमा फैलिएको मनास्लु पदमार्गमा के छैन र ! सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । भव्य भौगोलिक भूदृश्य छ । अनि मनमोहक हिमशृङ्खला र चकित पार्ने हिमनदी छन् । स्थानीय बासिन्दाको परम्परागत जीवनशैलीले त बिछट्टैको आनन्द दिन्छ । पाइला–पाइलामा भेटिने सम्पदाहरू पर्यटकका लागि बहुमूल्य उपहार बन्छन् । अनि फरकफरक रौनक, मिठास, आनन्द र नवीनताको अनुभूति पनि गर्न पाइन्छ ।

   

लेखक बाट थप