दुर्गा लाग्नुभन्दा केही दिनअगाडि काठमाडौँबाट पशु अधिकारवादीको एउटा टोली जिल्ला भ्रमणमा आयो । उनीहरूका कुरा सुनाएर जनतामा चेतना भर्ने आमसभा आयोजना गरिएको थियो । केही स्थानीय बुज्रुक र उतैबाट आएकाहरूले मन्तव्य राखे । मुख्य वक्ताले निकै मार्मिक र कारुणिक भाषाको प्रयोग गरेर पशु अधिकारका बारेमा बयान गरे, “यो पृथ्वी हामी मानिसका लागि मात्र होइन, हरेक प्राणीको हाम्रो जस्तै बाँच्न पाउने हक हुन्छ । अरूलाई मारेर उनीहरूको विपत्तिमा हामीहरूले उत्सव मनाउनु कुनै पनि अर्थमा राम्रो होइन ।”
बोल्दा बोल्दै उनले खल्तीबाट रूमाल निकाले अनि आँसु पुछ्दै रुन्चे स्वरमा फेरि थपे “के अरूको ज्यान लिएर मात्र हाम्रा मेलापर्व र उत्सवहरू रमाइला हुन्छन् । विवेकी भनिएका हामी मानिसले कति अविवेकी काम गरेका छौँ, अझ मन्दिरमा लगेर तिनै पशुहरूलाई हत्या गरी पुण्य पाउने अपेक्षा गर्दछौँ । यस्तै कुराले आजकल मलाई आफूलाई मान्छे भन्न पनि लाज लागेर आउँछ ।” भाषणबाट उनले यति प्रभाव पारे कि आफूमा कुनै धार्मिक पुण्यात्माको छवि उतार्न सफल भए ।
भाषणभिषणमा त्यति चासो नराख्ने नीरजमान पनि यस पटक निकै ध्यान दिएर भाषण सुनिरहेको थियो । “वास्तवमै हामीहरूले नराम्रो गरिरहेका रहेछौँ” उसले मनमनै गुन्यो । कार्यक्रम सकिएपछि सबैजना आआफ्ना थातथलोतिर लागे । नीरज पनि घर जान केही अगाडि बढ्यो तर सकेन । बुद्धलाई गाली गरेर हिँडेको व्यापारीजस्तै उसलाई पश्चात्ताप, चिन्ता र छट्पटीले उकुसमुकुस बनायो । “साँच्चै मैले आजसम्म कति प्राणीको रगत र मासु खाएँ होला” उसको मनमा यिनै तर्कना मात्र आइरहे । बाटामा भेटिएका हरेक रूखमा उसले आफूले सिकार गरेका र खाएका जनावरका आकृतिहरू देख्न थाल्यो । ऊ घर जान सकेन । फनक्क फर्कियो । दिउँसो भाषण गर्ने टोली बास बसेको होटल खोज्दै साँझपख उनीहरू बसेकै ठाउँमा पुग्यो ।
काठमाडौँबाट आएको टोली रमाइलो गर्दै थियो । उनीहरू हाँस्दै खाना खाइरहेका थिए । त्यत्तिकैमा दिउँसो भाषण गर्ने दयालु महोदयले वेटरलाई बोलाए र भने “कति चिकेन मात्र खाने ! बफ र मटन आइटम छैन ? भोलिका लागि बोइलर होइन, लोकल कुखुरा र हाँसको व्यवस्था गर्नू ।” नीरजमान झसङ्ग भयो । ती महोदयको भनाइ सपनाको हो कि विपनाको ? छुट्याउन गाह्रो भयो उसलाई ।