• १२ साउन २०८१, शनिबार

नेदरल्यान्ड्स र इक्वेडरले अंक बाँडे

blog

गोल गरेपछि खुशी मनाउँदै नेदरल्यान्ड्सका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १० गते । कतारमा जारी विश्वकप अन्तर्गत समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खलिफा स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले सुरुवातीअग्रता लिएपनि जोगाउन सकेन । कोडी गाक्पोले छैटौं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाउनुभयो ।

नेदरल्यान्ड्सको अग्रता पछि जोसिएको इक्वेडरले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्कायो । ४९औं मिनेटमा कप्तान इनर भ्यालेन्सियाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भए । बराबरीसँगै चार अंक बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ । 

दोस्रो स्थानमा रहेको इक्वेडरको पनि समान चार अंक छ । तीन अंक बनाएको सेनेगल तेस्रो स्थानमा छ । अंकविहिन कतार अन्तिममा छ । एजेन्सी