काठमाडौँ, मङ्सिर १० गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्षतर्फका करिब तीन चौथाइ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ। यता विवादित बनेका तीन जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना गर्ने वा पुनः मतदान हुने भन्ने अझै निश्चित भएको छैन।
दोलखा, स्याङ्जा र बाजुराका एक एक निर्वाचन क्षेत्र विवादित बनेका हुन्। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले तीनवटै जिल्लाको उजुरी आयोगले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो।
स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ तथा एक एक निर्वाचन क्षेत्र रहेको दोलखा र बाजुरामा मतदान भए पनि उजुरी परेपछि तीनवटै निर्वाचन क्षेत्रमा गणना सुरु हुन सकेको छैन। निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थलको प्रतिवेदनसहित उजुरीको विवरण मङ्सिर ६ गते नै आयोगमा पठाइसकेको छ।
बाजुरामा आज
मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको बताउनुभयो। सो केन्द्रमा ९९९ जना मतदाता छन्।
बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ।
घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ। टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ।
त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो। उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ।
त्यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ३, गल्याङ नगरपालिका वडा नं. ६ र कालीगण्डकी नगरपालिका वडा नं. २ मा अनियमित तवरबाट मतदान भएको भन्दै विवाद छ। दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नं. १, २, ३ र ६ तथा तामाकोसी गाउँपालिकाको वडा नं. ३ को मतदान विवादित बन्दा गणना हुन सकेको छैन।