• १५ वैशाख २०८१, शनिबार

डा. शेखर कोइराला फराकिलो अन्तरले विजयी

blog

डा. शेखर कोइराला । फाइल तस्बिर

हरि कोइराला

उर्लाबारी, मङ्सिर ९ गते। डा. शेखर कोइरालाको संसदीय यात्रा सुरु भएको छ। चिकित्सा पेसाबाट राजनीतिमा आउनुभएका कोइराला कांग्रेसभित्र प्रभावशाली नेतामध्ये एक हुनुहुन्छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता कोइराला मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट विजयी हुनुभएको छ।

कोइराला नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितलाई १४ हजार २८६ मतले हराउँदै प्रतिनिधिसभाको सदस्य पदमा विजयी हुनुभएको हो। शुक्रबार बिहान अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार कोइरालाले ३५ हजार २१८ मत प्राप्त गर्दा एमाले उम्मेद्वार पण्डितले २२ हजार ९३२ मत प्राप्त गर्नुभयो। मोरङ ६ मा ८५ हजार ३७१ मत खसेको थियो, जसमध्ये ८० हजार ४१७ मत सदर भएको थियो।

२०६४ सालदेखि चिकित्सा पेसा छोडेर कांग्रेस राजनीतिमा प्रवेश गर्नुभएका ७२ वर्षीय कोइराला तेस्रो पटक निर्वाचित हुनुभएको हो। पहिलो पटक मोरङ ७ बाट संविधान सभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता विजयकुमार गच्छदारसँग पराजित हुनुभएका कोइराला २०६५ मा भएको उपनिर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभयो। फोरमका गच्छदार सुनसरी–३ र मोरङ ७ बाट विजयी भएपछि मोरङ ७ मा उपनिर्वाचन भएको थियो।

दोस्रो संविधानसभा निर्वाचनमा मोरङ–७ बाट विजयी हुनुभएका कोइराला २०७२ को संविधान जारी भएपछि भएको पहिलो निर्वाचनमा मोरङ ६ बाट एमाले नेता लालबाबु पण्डितसँग ६८५ मतले पराजित हुनुभयो। पाँचौं पटक चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका कोइरालाले यो पटक पण्डितलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो।

विश्वेश्वरप्रसाद कोइरालाका साइँला भाइ केशवप्रसाद कोइराला र कांग्रेस नेत्री नोना कोइरालाका छोरा डा. कोइराला २००७ साल भदौ ९ गते मोरङको विराटनगरमा जन्मनुभएको हो।

नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका कोइराला पार्टी राजनीतिमा आउनुअघि चिकित्सा क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो। १२ औं महाधिवेशनपछि काका गिरिजाप्रसाद कोइरालाको राजनीतिक सारथिको रुपमा काम गर्नुभएका डा. कोइरालाले विस्तृत शान्ति सम्झौतादेखि १२ बुँदे दिल्ली सम्झौतासम्मको खाका तयार पार्न  गिरिजाप्रसाद कोइरालालाई सहयोग गर्नुभएको थियो।

वीर अस्पताल, तत्कालीन कोशी अञ्चल अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट र बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष र उपकुलपति भएर लामो समय काम गर्नुभएका कोइराला २०३३ सालमा बीपी र गणेशमान सिंह मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि उहाँहरूसँगै तीन महिना जेल बस्नुभयो।

बीपीलाई घरमै नजरबन्द गरिएका बेला उहाँ तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देसाईको पत्र लिएर नेपाल आउनुभएको थियो। उहाँ मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ मा स्थायी बसोबास गर्नुहुन्छ। १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पार्टीको सभापति पदमा मुख्य प्रतिस्पर्धी हुनुहुन्थ्यो।