• १६ चैत २०८०, शुक्रबार

जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै

blog

काठमाडौँ, मङ्सिर ९ गते । सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ । राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ र नगर छुट्याउन लागिएको हो । राष्ट्रिय जनगणना, २०७८ को क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सामुदायिक प्रश्नावली निर्माण गरी विकासका भौतिक पूर्वाधारसहितको तथ्याङ्क सार्वजनिक गर्न लागिएको जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगर छुट्टिने गरी विवरण सार्वजनिक गरिने बताउनुभयो । 

सरकारले २०७३ सालमा स्थानीय तह पुनर्संरचना आयोग निर्माण गरी जनसङ्ख्या, विकासका भौतिक पूर्वाधार र सेवाग्राहीको सार्वजनिक निकायमा पहुँचका आधारमा ४६० गाउँपालिका तथा महानगर, उपमहानगर र २९३ नगरपालिका गरी ७५३ पालिका घोषणा गरेको थियो ।  लामिछानेका अनुसार जनगणनाको पूर्णविवरण सार्वजनिक हुँदा नागरिकको सहरप्रतिको पहुँच, सहरी पूर्वाधार, प्रशासनिक सेवासुविधाको अवस्था, सवारीसाधनको सहज उपलब्धता, विश्वविद्यालयको अवस्था, खानेपानी, बिजुलीलगायत विकासका आयामको यकिन तथ्याङ्क सार्वजनिक गरिनेछ ।  

जनगणनाका क्रममा गणकहरूले घरघरमा पुगेर सहरी सेवासुविधामा वडावासीको  पहुँचको अवस्था शीर्षकमा विभिन्न प्रश्नावली सोधेका थिए । उक्त प्रश्नावलीमा वडाको केन्द्रसम्म वर्षैभरि सडक यातायात सञ्चालनको अवस्था, वडावासीलाई आधा घण्टाको दूरीमा सार्वजनिक यातायात पहुँचको अवस्था, वडामा कालोपत्रे र ग्राभेल भई बाह्रै महिना यातायात चल्न सक्ने सडकको लम्बाइ, वडाभित्र धुलेमाटे सडकको लम्बाइ, एक घर एक धारा, फोहोर नियमित सङ्कलन गरी व्यवस्थापन गर्नेलगायतका प्रश्नावली निर्माण गरी सोको उत्तर तयार पारिएको छ ।