• ९ जेठ २०८१, बुधबार

विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी् सुरुवात

blog

दोहा, मङ्सिर ९ गते।  विश्वकप फुटबलमा पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले पराजित गरेको । 

पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन्। खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाउनुभएको हो।

घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो। रोनाल्डो सहभागी भएको यो पाँचौँ विश्वकप हो। उहाँ लगातार पाँचवटा विश्वकप खेल्दै गोल गर्ने कीर्तिमानी खेलाडी बन्नुभएको छ। रोनाल्डोले यसअघि सन् २००६, २०११, २०१४ र २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगिता खेल्नुभएको थियो।

खेलको ७३औँ मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए। लगत्तै खेलको ७७औँ  मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाउनुभयो। खेलको ७९औं मिनेटमा राफायल लियोले गोल गर्दै पोर्चुगललाई ३–१ को अवस्थामा पुर्याए। 

यसैगरी खेलको ८९औँ मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै पोर्चुगलमाथि दबाब सिर्जना गर्नुभयो। घानाले अन्तिम समयसम्म बराबरीको प्रयास गरे पनि पोर्चुगललाई हराउन भने असफल भयो। पोर्चुगलले ३–२ गोलका साथ खेल आफ्नो पक्षमा पारेको हो।  जीतसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ। पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा छ। रासस